आन्दोलनरत व्यवसायी आज ‘नो डिपोजिट’

कैलाली, १८ फागुन । बैङ्कले लिइरहेको चर्को ब्याजदर विरुद्ध आन्दोलित भएका उद्योगी व्यवसायीहरू आज ‘नो डिपोजिट’ मा उत्रिएका छन् ।

१५ गते देखि बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दबाब दिइरहेका यहाँका उद्योगी व्यवसायीहरूले आज बैङ्कहरूमा कारोबार नगर्ने भएका छन् । बिहान ९ बजे देखी धनगढीको चटकपुरबाट चौराहा हुँदै पार्क मोडमा आज पनि विरोध ¥याली निकाल्ने कैलाली उद्योग वाणिज्य सङ्घले तयारी गरेको छ ।

पार्क मोडमा कोणसभा गर्ने र सबै बैङ्कहरूमा दबाब मूलक धर्ना दिने कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।

कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा भइरहेको छ । उनीहरुले सरकारले ब्याजदर नघटाउँदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोहीअनुसार सबै जिल्ला र नगरमा आन्दोलन भइरहेको छ ।