भजनी सडक निर्माण शुरु भएको चार वर्ष पछि कालोपत्र हुँदै

भजनी, १६ फागुन । निर्माण सुरु भएको चार वर्षपछि भजनी सडक कालोपत्र हुन थालेको छ । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको चार वर्षपछि मात्रै कालोपत्र सुरु भएको हो ।

सडक कालोपत्र हुँदा स्थानीय खुशी भएको हिक्मत विश्वकर्मा बताउँछन् । लामो समय सम्म धुलो र हिलोको सास्ती खेप्दै आएका स्थानीय सहड कालोपत्र हुँदा हर्षित बनेका छन् । “भएको कालोपत्र सडक पनि उखेलेर फालेको अवस्था थियो । सडकको काम अस्तव्यस्त हुँदा सास्ती त्यस्तै थियो भने धुलो र हिलोको समस्या उस्तै”, हिक्मतले भने, “सडक कालोपत्र हुन थालेपछि आवतजावतमा सहजता पुग्ने आशा छ । सडक राम्रो र टिकाउ बनोस् भन्ने अपेक्षा छ ।”

मुख्य बजार क्षेत्रमा निर्माण सुरु भएको काम बीचमै अलपत्र पर्दा सबैभन्दा बढी सास्ती व्यापारीहरुलाई भएको थियो । लामो समयदेखि अन्योलमा रहेको आयोजनाको कामले गति लिएपछि आशा जागेको स्थानीयवासी राजेन्द्र विष्टले बताए । उनले सडक निर्माणको काम सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै काम गुणस्तरीयमा भने शङ्का गरेको बताए । “आयोजनाले ढिलै भए पनि कालोपत्रको काम सुरु गरेको छ । त्यसको गुणस्तरमा स्थानीय सरकारको ध्यान पुग्नुपर्छ ।”,

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीको निगरानीमा निर्माण भइरहेको ब्लक नं. ए अन्तर्गतको काम असार मसान्तसम्म सम्पन्न गर्ने योजना निर्माण कम्पनीको रहेको छ । महालक्ष्मी एमके जेभीले निर्माणको जिम्मा पाएको आयोजनाको चौथोपटक म्याद थप भएको हो ।

निर्माण कम्पनीका सुपरभाइजर जयराम थापाले असार मसान्तसम्म काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनका अनुसार वैशाखभित्र कालोपत्रको काम सम्पन्न हुनेछ ।

“सडकको बेसको काम सबै सकिएको छ । अब कालोपत्रको काम वैशाखभित्र सक्छौँ । सुपरभाइजर थापाले भने, “बाँकी फुटफाट र टुक्राटुक्राको काम बाँकी हुन्छ, त्यो पनि समयमै सम्पन्न गर्छौं ।”

आठ करोड ४१ लाखको लागतमा निर्माण हुन लागेको आयोजनाको म्याद मङ्सिरमा सकिएको थियो । तर म्याद भने थप भएको छैन ।