बैंक ब्याजदर विरुद्ध सुदूरपश्चिमका व्यवसायीद्धारा आन्दोलनको स्वरुप परिवर्तन

कैलाली, १३ फागुन । बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध सुदूरपश्चिमका व्यवसायीहरु आक्रोसित हुदै अब आन्दोलनको स्वरुप नै परिवर्तन गर्ने तयारीमा ज्टेका छन् । शनिवार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध आन्दोलनको स्वरुप परिवर्तन छलफल चलाएका हुन् ।

कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघले बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षका रणनीति निर्माण गरि चरणबद्धरुपले आनदोलन गर्ने प्रतिवद्धता जनाए ।

छलफलपछि उद्योगी व्यवसायीले यही १४ गते प्रचारप्रसार, सुचना प्रकाशन तथा पत्रकार सम्मेलन गर्ने, १५ गते हरेक दिन विहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोण सभा गर्ने निश्कर्ष निकालेका छन् ।

उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णय समेत गरेका छन्। त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने निर्णय समेत भएको छ। साथै फागुनभित्र माग पुरा नभए थप आन्दोलन गर्ने बताएका छन् ।