राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्न लागिएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँचरपाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानूनी व्यवस्था छ। मुलुकको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा तथा राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ। राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेश सभा सदस्यको ५५० गरी ८८२ कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ।