औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास भएको दुई वर्षपछि कार्यालय स्थापना

कैलाली, ९ फागुन । कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणको लागि शिलान्यास भएको दुई वर्षपछि सोमबार साइनबोर्ड राखेर सम्पर्क कार्यालय स्थापना गरिएको छ। दैजी–छेलामा हरित औद्योगिक क्षेत्रको परिकल्पना गरिएको हो । तर निर्माण सम्पन्न हुने अन्तिम मितिको भने कुनै टुंगो छैन्।

बेदकोट नगरपालिका–२ छेलामा साइनबोर्ड सहित सम्पर्क कार्यालय स्थापना गरिएकाले अब औद्योगिक क्षेत्र निर्माणले तीव्रता पाउने देखिन्छ । दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीले पनि दैजी–छेलाको औद्योगिक क्षेत्रको शिलान्यास गर्दा भनेका थिए, अब निर्माणले तीव्रता पाउँछ। तर कार्यान्वयनमा प्रगति हुन सकेको थिएन्।

सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पर्क कार्यालयका उद्घाटन गरेका छन् । उनले कार्यालय स्थापनासँंगै औद्योगिक क्षेत्रको कामले पनि गति लिने दोहो¥याए। ‘औद्योगिक क्षेत्रको कामलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ,’ मन्त्री भण्डारीले भने, ‘औद्योगिकीकरणको विकास सरकारको प्राथमिकतामा छ।’

२०७७ फागुन १० मा छेलामा औद्योगिक क्षेत्रका स्थापना हुँदा स्थानीय निकै उत्साहित भएका थिए। तर अहिलेसम्म जमिनको भोगाधिकारदेखि वन क्षेत्रमा पर्ने रूख कटानलगायतका कामसम्म भएको छैन। बेदकोट नगरपालिकामा पर्ने चुरे फेदीको जनचेतना र बेदकोट सामुदायिक वनको ३५४ बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना भइरहेको छ।