लगानीकर्तालाई सुदूरपश्चिममा लगानी गर्न मुख्यमन्त्री शाहको आग्रह

धनगढी, ८ फागुन । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले लगानी कर्तालाई प्रदेशमा लगानी गर्न आग्रह गरेका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले दिन सक्ने सबै सुविधाहरू दिन तयार रहेको भन्दै सुदूरमा लगानी गर्न आह्वान गरेका हुन् ।

‘लगानीकर्ता मित्रहरूलाई यो प्रदेश सरकारले के सुविधा दिनुपर्छ , त्यो हामी दिन तयार छौँ । आउनुहोस् तपाईँहरू लगानी गर्नुहोस्,’ उनले भने,‘राज्यका तर्फबाट यो चिज भएन भन्ने वातावरण हुन दिँदैनौ । खुला रूपले हामी आह्वान गर्छौ । कुनै पनि क्षेत्रमा उद्योग स्थापना गर्न चाहने व्यक्ति, समुह आउनुहोस् । सुदूरपश्चिमको समग्र विकासका लागि सबै मिलेर छलफल गरौं र अगाडि बढौं ।’

साथै प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशं आउनु स्वाभिक रहेपनि आफूहरु प्रदेश सरकारलाई पूर्ण कार्यकाल चल्ने बातावरण मिलाईरहेको बताए ।

विश्वासको मतका लागि सबै दलहरुसँग सकारात्मक छलफल भैरहेको बताउँदै मुख्यमन्त्री शाहले भने ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छन् दिनमा हामी विश्वासको मत लिन्छौँ ।’ सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ, मध्यावधि निर्वाचनमा जान कुनै दल तयार छैन ।