सांसद अरुण चौधरी रिहा, रञ्जिताले गरिन् स्वागत

कैलाली, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीको रिहा पछि पार्टीका अध्यक्ष रञ्जिता चौधरी स्वागत गरेका छिन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन । उनीसहित कैलालीबाट चार जना रिहा भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए ।

थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

कानुन व्यवसायी अधिवक्ता गम्भीर सिंह ऐरले रिहा लगत्तै उनी निर्वाध रुपमा सो पदमा बहाल हुने बताए । उच्च अदालत दिपायलमा सुनुवाइको प्रक्रियामा रहेको उनको मुद्दा स्वतः खारेज भएको उनले बताए ।

उनले आफूमाथि लागेको मुद्दा नै त्रुटिपूर्ण रहेको भन्दै बदरको माग गर्दै उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए ।