शिवशखिर सहकारीका बचतकर्ता आन्दोलित, शाखामा १५ अरब ८० करोड बचत

धनगढी, ५ फागुन । आफूले बचत गरेको रकम फिर्ताको गर्न माग गर्दै शिवशिखर बहूद्देश्यीय संस्था धनगढीका बचतकर्ता आन्दोलनमा उत्रिएका छन् ।

संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै बचतकर्ताहरु बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् । बचतकर्ताहरु मिलेर शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिले बनाएका छन् ।

सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरू मर्कामा परेको भन्दै सहकारीलाई कारबाहीको माग समेत राखेका छन् । ‘हाम्रो बचतको ग्यारेन्टी गर, बचत कर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै आन्दोलनमा होमिएका छन् ।

शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले शिव शिखर बहूद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ खाएर भागेको आरोप लगाए ।

बचतकर्ता सो रकम फिर्ता नहुँदा आफूहरू आन्दोलन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । ‘हामीले प्रशासनिक रुपमा सबै ठाउँमा जानकारी गराइसकेका छौँ प्रधानमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाइसकेका छौँ, जबसम्म बचतकर्ताले आफ्नो पैसा पाउँदैनन् तब सम्म आन्दोलनमै हुन्छौ ।’

बचतकर्ता धर्मराज जैशीले ६ लाख रुपैया जम्मा गरेको बताउँदै वर्षौदेखिको मिहिनेत खेर गएको बताए । स्थानीय प्रशासनले आफूहरुको मागबारे कुनै चासो नराखेको उनको आरोप थियो ।

‘दिनभरि ज्यालादारी गरेर जम्मा गरेको रकम हो । अहिले सो सहकारीका पदाधिकारी फरार छन् । भविष्यमा छोराछोरी पढाउनको लागि, घर खर्च चलाउन सजिलो होला भनेर सहकारीमा वर्षौँदेखि पैसा जम्मा गरेको थिए ।’

यस्तै धनगढीको क्याम्पस रोडमा किराना पसल सञ्चालन गर्दै आएकी पदमा ऐरले पनि आफ्नो मिहिनेत खेर गएको गुनासो गरिन् । उनले सो सहकारी संस्थामा करिब १२ लाख रकम जम्मा गरेको बताइन । ‘अहिले सहकारीका पदाधिकारी नै फरार रकम पाउने हो कि होइन भन्ने चिन्ता बढेको छ ।’

सहकारीले दैनिक चल्ती खातामार्फत रकम संकलन गर्दै आएको थियो। देशभर सेवा विस्तार गर्दै आएको शिव शिखरले सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी शाखा कार्यालय नै बन्द गरेको छ ।

सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ट प्रबन्धक हेमराज जोशीले भने एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको जानकारी दिए ।