घरमा सुत्केरी भए सेवासुविधामा रोक, प्रसुतिसेवा नौ महिनादेखि बन्द

बैतडी, २९ माघ । बैतडीको स्थानीय स्वास्थ्य संस्थाको प्रसुतिसेवा नौ महिनादेखि बन्द छ । उता स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको भने सेवासुविधा रोक्ने नियम बनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–११, नागार्जुन स्वास्थ्य चौकीको प्रसूतिसेवा बन्द हुँदा गर्भवती महिला समस्यामा छन्। शुक्रबार दशरथचन्द नगरपालिका–११, नागार्जुनमा सुत्केरी बेथा लागेकी महिला प्रसूति हुन जाँदा सेवा बन्द थियो। नागार्जुन स्वास्थ्य चौकीमा प्रसूतिसेवा बन्द भएको थाहा पाएपछि सुत्केरीलाई फर्काएर दशरथचन्द नगरपालिका–९, मा रहेको जोशी बुङ्गा स्वास्थ्य चौकी आएको स्थानीय नरी पन्तले बताईन् ।

दशरथचन्द नगरपालिका–११, को नागार्जुन स्वास्थ्य चौकी मात्रै होइन, दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीमा पनि प्रसूतिसेवा बन्द भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले अधिकांश स्वास्थ्य संस्थामा प्रसूतिसेवा बन्द रहेको जानकारी दिए । चालू रहेको दशरथचन्द नगरपालिका–२, देहिमाडौँ स्वास्थ्य चौकीले कार्यालय समय (१० देखि ५ बजेसम्म) मात्रै प्रसूति सेवा दिने गरेको बताए ।
समय तोकेर कार्यालय समयमै सुत्केरी बेथा लाग्ने होइन तर यहाँका कार्यालयमा यस्तै नियम लगाएका छन् ।

प्रसूतिसेवा सञ्चालन गर्न नगरपालिकालाई जनशक्ति पठाइदिन अनुरोध गरे पनि हालसम्म जनशक्ति व्यवस्थापन नभएको उनले बताए । स्वास्थ्य चौकीमा चौबीस घण्टा प्रसूतिसेवा सञ्चालनका लागि जनशक्तिको अभाव छ ।

प्रसूतिसेवाजस्तो अति संवेदनशील विषयमा स्थानीय सरकार उदासीन छ । स्थानीय सरकारले एकातिर सुरक्षित सुत्केरीको नारा अघि सारेर घरमा सुत्केरी हुनेको सेवासुविधा बन्द गरेको छ भने अर्कोतर्फ प्रसूतिसेवा नियमित गर्न नसकेको छैन । प्रसूतिसेवा बन्द भएको विषयमा दशरथचन्द नगरपालिका–११, का वडाध्यक्ष जयदत्त पन्तले जनशक्ति व्यवस्थापनको विषयमा नगरपालिका गएर समस्यालाई समाधानका लागि पहल गर्ने बताउँछन् ।