नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज, मन्त्रिपरिषद् पनि विस्तार हुने
कैलाली, २७ माघ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । नवनियुक्त मुख्यमन्त्री शाहले प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने भएका हुन् । त्सस लगत्तै प्रदेश सरकारको विस्तारको तयारी गरिएको छ ।
पहिलो चरणमा मुख्यमन्त्रीले दुई मन्त्री लाई नियुक्त गर्ने स्रोतको दाबी छ । कांग्रेसबाट पहिलो चरणमा प्रकाश देउवा मन्त्री बन्ने छन् । उनको मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन । उनले भौतिक, आर्थिक र सामाजिकमा चासो देखाएका छन् । कांग्रेसबाट आजै अर्को मन्त्री पनि नियुक्त हुने जसमा मेघराज खड्काको सम्भावना बढिरहेको एक सांसदले बताइन् । खड्का अछामबाट प्रत्यक्ष निर्वाचित कांग्रेस प्रदेश महामन्त्री समेत हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट पनि एक मन्त्री नियुक्त हुने सम्भावना छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मन्त्रीमा नियुक्त हुन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।
मुख्यमन्त्री शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।














