नागरिक उन्मुक्ति पार्टी मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने

कैलाली, २६ माघ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका सांसदहरू उपस्थित नहुने भएका छन्।

उन्मुक्ति पार्टीका सांसदहरू काठमाडौंमा रहेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि नेकपा ९एमाले० नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जना सांसद आवश्यक छ। अहिलेकै अवस्थामा उन्मुक्ति पार्टीको समर्थन विना रावललाई विश्वासको मत पुग्दैन।

नागरिक उन्मुक्तिका सात वटै सांसद शुक्रबार मात्रै धनगढी फर्किने जनाइएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक चौधरीका अनुसार रेशम चौधरीको रिहाई नभएसम्म विश्वासको मत नदिने अडानका साथ सबै जना काठमाडौंमा छन्। उनले भने‚ “कारागारको ढोका खुल्ने बित्तिकै प्रदेशको ढोका खुल्छ। एक हातले दिने र अर्को हातले छोड्नुपर्छ।”

प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। सत्ता गठबन्धनमा रहेका एमालेका १०, नेकपा ९माओवादी केन्द्र०का सभामुख बाहेक १० र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा ९एकीकृत समाजवादी० का ४ र १ स्वतन्त्र सांसद छन्।

प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले कांग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताए। मुख्यमन्त्री नियुक्त भएको एक महीनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।