नागरिक उन्मुक्ति र जसपाले सङ्घीय मञ्चसंग पार्टी एकताको प्रस्ताव
काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार पठाएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि छुट्टा छुट्टै पत्र पठाएका छन् ।
जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्राचार गर्दै औपचारिक आह्वान गरेका हुन् । नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुस १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो ।

पार्टी एकताको सान्दर्भिकता बारे प्रकाश पार्दै पत्रमा भनिएको छ, यस्तो एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोर्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी(दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका अधिकारहरू सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ ।
जसपाले श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

यसैगरी काराकारमा बन्दी जीवन बिताइ रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सङ्घीय मञ्चलाई कार्यगत एकताकोलागि प्रस्ताव पत्र पठाएका छिन् ।
विचार र मुद्दा मिल्ने पार्टीहरूसँग कार्यगत एकता वा पार्टी एकीकरण गर्न इच्छा वा अवधारणा भए यथाशीघ्र वार्ता गर्न अनुरोध छ भन्दै पत्र पठाएको छ ।














