किन पक्राउ परे सांसद अरुणकुमार चौधरी ?
कैलाली, १९ माघ । कैलालीबाट काठमाडौं जाँदै गरेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बिहीबार दिउसो एकाएक बाँकेबाट पक्राउ परेका छन्।
सांसद चौधरीलाई आगजनीको मुद्दामा १० वर्षअघि अदालतले दोषी ठहर गरेको थियो। त्यहि मुद्दामा अदालतको फैसला कार्यान्वयन गराउने क्रममा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
यो मुद्दामा भने थरुहट आन्दोलनसँग जोडिएको छ। २०६४ मा भएको पहिलो संविधान सभाको चुनावपछि झापादेखि कञ्चनपुरका थारु पहिचान मुद्दा लिएर आन्दोलनमा उत्रिएका थिए। त्यहि क्रममा कैलालीमा थरुहट आन्दोलनले चर्को रुप लिएको थियो।
थरुहट आन्दोलनका प्रवक्ता माधव चौधरीका अनुसार सांसद चौधरी त्यसताका थरुहट तराई पार्टीका क्षेत्रीय अध्यक्ष थिए। “कैलालीको बलिया क्षेत्रमा आन्दोलनको नेतृत्व अरुणले गरेका थिए। आन्दोलनका क्रममै ट्र्याक्टरमा आगजनी भएको थियो,” प्रवक्ता चौधरी भन्छन्।
थरुहट आन्दोलनका प्रवक्ता चौधरीका अनुसार २०६६ भदौ ३ गते लु २ त २११ नम्बरमो ट्र्याक्टरमा आगजनी भएको थियो। त्यो ट्रयाक्टर नेकपा ९एमाले०का स्थानीय नेता महादेव बजगाईँको हो। उनी लम्की चुहा नगरपालिकाका पूर्व मेयर हुन्।
बजगाईले बलिया क्षेत्रमा थरुहट आन्दोलनको नेतृत्व गरेका चौधरीसहित तीन जना विरुद्ध उजुरी दिएका थिए। चौधरीसँगै परशुराम चौधरी र वीरबहादुर चौधरीलाई पनि विपक्षी बनाइएको थियो।
जिल्ला अदालतमा मुद्दा चले पनि उनी उपस्थित भएका थिएनन्। जिल्ला अदालत, कैलालीले २०७० वैशाख ९ गते तीनै जनालाई दोषी ठहर गरेको थियो।
जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई ६(६ महीना कैदको फैसला सुनाएको थियो। यससँगै उनीहरूलाई जनही आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो।
अदालतको फैसलापछि पनि तीनै जना फरार सूचीमा थिए। तर, वीरबहादुर चौधरीले भने केही समयअघि मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊ भन्दै अदालतमा निवेदन दिएका थिए। अदालतले उनको माग अस्वीकार गर्दै ६ महीना कैद भुक्तान गर्न आदेश दिएको थियो। वीरबहादुर यहि माघ १३ गते पक्राउ परेका छन्।
उनी पक्राउ परेसँगै सांसद चौधरीका विषयमा पनि टिकाटिप्पणी हुन थालेको थियो। त्यहि क्रममा प्रहरीले उनलाई बाँकेबाट पक्राउ गरेको हो। काठमाडौं जाँदै गर्दा माघ १९ गते दिउसो बाँकेको कोहलपुरबाट सांसद चौधरीलाई पक्राउ गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले जानकारी दिए।
कोहलपुरमा पक्राउ परेका सांसद चौधरीलाई कैलाली ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। गत मंसीर ४ गते भएको निर्वाचनमा चौधरी कैलाली(२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। हिमालखबरबाट ।













