छ लेन सडकमा दुई करोड ६८ लाख खर्चेर स्मार्ट बत्ती
कैलाली, १८ माघ । धनगढीको छ लेन सडकमा सात किलोमिटर सम्म स्मार्ट बत्ती जडान भईरहेको छ । छ लेन सडकलाई राति उज्यालो बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो ।
वडा नम्बर ३ को मोहनापुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडानको कार्य भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार स्मार्ट सडक बत्ती जडानमा दुई करोड ६८ लाख रुपियाँ खर्च हुदैछ । २१६ पोलमा ४३२ वटा लाइट जडान हुनेछन् । सेन्सरयुक्त स्मार्ट सडक बत्ती साँझ परेपछि आफै बल्ने र विहान घाम झुल्केपछि आफै निभ्ने जनाइएको छ । सूर्योदय उर्जा प्रालिले ठेक्का पाएर स्मार्ट सडक बत्ती जडानको कार्य गरिरहेको छ । माघ अन्तिमबाट बत्ती बाल्ने गरी बत्ती जडानको कार्य भइरहेको सो कम्पनीले जनाएको छ ।
नेपाल विद्युत प्राधिरण उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भईरहेको पालिकाले जनाएको छ । यो बत्ती बलेवाफत उठ्ने विद्युत महसुल धनगढी उपमहानगरपालिकाको कार्यालयले तिर्नेछ ।













