कपडा उद्योगबाटै ११ केजी लागुऔषधसहित ४ जना पक्राउ
कैलाली, १७ माघ । धनगढी स्थित चतकपुरमा रहेको कपडा उद्योगबाट लागुऔषधसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । मंगलवार बिहान गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजी बढी लागुऔषधसहित पक्राउन गरेको प्रहरीले जानकारी दियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका २ स्थायी घर भएका उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले संचालन गरेको उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषध बरामद गरिएको हो।
जिप्रका कैलालीको टोलीले उद्योग संचालक धामीसहित दार्चुलाको नौँगाड २ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु ७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक २ घर भई कैलालीको बर्दगोरिया ४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट १ थान डिजिटल काँटा पनि नियन्त्रणमा लिईएको छ।













