कैलालीमा लाटोकोसेरो उत्सव हुने

धनगढी, १३ माघ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा लाटोकोसेरो तथा हुचील उत्सव हुने भएको छ ।शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरि उत्सव बारे जानकारी गराइएको थियो । उत्सव यही माघ २० र २१ गते हुने भएको छ ।

चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा माघी होमस्टेमा उत्सव मनाउने भएको छ । सो उत्सव आयोजना गर्न घोडाघोडी नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय पहमानपुर र नेपाल पक्षी संरक्षणले सहकार्य गर्नेछन् ।

यसअघि, सन २०१९ मा स्याङ्जाको राङभाङमा नवौं लाटोकोसेरो तथा हुचील उत्सव भएको थियो । किसानका साथीको रुपमा चिनिने लाटोकोसेरो तथा हुचीलको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको तर कोरोना महामारीका कारण दूई वर्ष हुन नसको आयोजकले जनाएको छ ।

उत्सवले यहाँ संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पु¥याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् लाटोकोसेरो संरक्षणकर्मी राजु आचार्यले जानकारी दिए ।

फ्रेन्ड्स अफ नेचरका अनुसार लाटोकोसेरो तथा हुचील उत्सवमा लाटोकोसेरो तथा हुचीलको बारेमा विभिन्न जानकारीमूलक भिडियोहरुपनि प्रदर्शनी गर्ने जनाइएको छ । यसैगरी, स्थानीय समुदायको नाचगानसहित संरक्षणबारे सन्देशपनि दिने गरिन्छ ।

यसअघि, धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव आयोजना भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा भने पहिलो पटक लाटोकोसेरो तथा हुचील उत्सव हुन गइरहेको हो । यो उत्सव नेपालसहित अमेरिका, इटली र भारतमा पनि मनाइने गरेको फ्रेन्ड्स अफ नेचरले जानकारी दिए ।

विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइन्छन् । नेपाल सरकारको तथ्यांक अनुसार ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ भएता पनि विभिन्न संघ संस्थाले पछिल्लो समयमा गरेको अध्ययन–अनुसन्धानहरुमा सवै प्रजातिहरु प्रभावित देखिन्छन् । नेपालवाट लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको आचार्यले बताए ।

अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरोको प्रमुख आहारा हो । ४ वटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा शिकार गर्ने भएकाले यो किसानको साथी भएको आचार्य बताउँछन् ।

उत्सवमा नेपाल भरिका प्रकृति, पर्यावरण, संरक्षण क्षेत्रमा काम गर्ने २५ भन्दा बढी संघ संस्था लगाएत सरोकारवाला निकायहरु, संरक्षणकर्मीहरु र स्थानीय विद्यालय, कलेजका विद्यार्थीहरुको समेत सहभागिता रहने जनाइएको छ ।

विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल एवम् घोडाघोडी चरा अभयारण्य क्षेत्रमा रहेको माघी होमस्टेमा यस वर्ष लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुने भएपछि स्थानीयसमेत खुशी भएका छन् ।

उत्सवमा चार जना अनुसन्धानकर्मी र संरक्षणकमीहरुलाई संरक्षणको क्षेत्रमा योगदान पुर्याए बाफत पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुनेलाई जनही नगद रु २५ हजार सहित तामापत्र तथा दोसल्लाले सम्मान गरिनेछ ।

उत्सवमा जाजरकोटका संरक्षणकार्मी गोविन्द बहादुर सिंह, काठमाडौंका अनुसन्धानकर्मी हेमबहादुर कटुवाल, चितवनका पत्रकार रमेश कुमार पौडेल, भारतिय डा. सतिस अ.पांडे पुरस्कृत हुदैछन् ।