कैलालीमा पनि देखिए दादुराका विरामी

कैलाली, १० माघ । कैलालीमा पनि दादुराको संक्रमण देखा परेको छ । धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगङ्गा नगरपालिकाका बालबालिकाहरुमा दादुराको संक्रमण देखिएको हो ।

यी स्थानीय तहका समुदायमा दादुराको संक्रमण देखा परेपछि अन्यत्र पनि फैलिने सक्ने खतारा बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

धनगढीको वडा नम्बर १ को पशुपतिटोलमा भारतबाट आएका ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि जनाइएको छ । यस्तै, गोदावरी नगरपालिकाको वडा नम्बर ३ र गौरीगङ्गाको वडा नम्बर ६ मा १÷१ जनालाई दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले संक्रमण देखापरेको स्थानमा तत्काल खोप अभियान सञ्चालन गर्ने जानकारी दिए ।

सरकारले सन् २०२३ मा नेपालबाट दादुरा रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ। तर केही दिन अगाडि लुम्बिनी प्रदेशको बाँके जिल्ला पनि दादुराका विरामी देखिए ।