रेशमको रिहाइमा सकारात्मक छु : मुख्यमन्त्री रावल

काठमाडौं, ९ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजबन्दी रेशम चौधरीको रिहाइका लागि आफू सकारात्मक रहेको बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री रावलले सामाजिक सद्भाव कायम गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न जरुरी रहेको बताए । रेशम समाजको कम्पोनेन्ट हो, त्यत्ति बुझ्न जरुरी छ । सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको उनको गुनासो थियो ।

उनले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिका लागि नभई अबको पाँच वर्षमा विगतलाई सम्मान गर्दै वर्तमानलाई क्रियाशील बनाउने प्रतिबद्ध भए । ‘‘राजनीतिको सारथिका रूपमा मलाई आम जनताले निर्वाचित गराए । यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकाङ्क्षाका लागि होइन । मूलतः ग्रामीण क्षेत्रका नागरिकको समस्या, पीडा, राष्ट्र र राष्ट्रियता, समावेशिताको मुद्दासँग जोडिएको छ ।’

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको केन्द्रिकृत राज्यलाई सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्न जरुरी रहेको औँल्याए ।

सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन जरुरी छ । ‘‘अब सुदूर होइन, सुगम कसरी बनाउन सकिन्छ ? यो क्षेत्रका पीडा उजागर गरेर समाधान कसरी गर्न सकिन्छ, अब यसमा हातेमालो गरौँ ।’ उनले भने, ‘‘देउडा कल्चरको मान्छे हुँ म, सखिया नृत्य नाच्ने क्षेत्रको मान्छे हुँ म । होली नाच नाच्ने क्षेत्रको मान्छे हुँ । यो कल्चरल फ्युजनलाई लिएर हामी कसरी अघि बढ्ने भनि हातेमालो गर्न चाहान्छौं ।’

सुदूरले खोजेको समृद्धि, जनताका सामान्य कुरा शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जनालगायत सवाललाई सम्बोधन गर्ने जरुरी रहेको बताए ।