अनियमिता रोक्न विकासको जिम्मा महिलालाई दिने पालिकाको निर्णय
बैतडी, ८ माघ । बैतडीको पाटन नगरपालिकाले विकास निर्माण कार्यलाई चुस्त बनाउन महिलालाई नेतृत्वको जिम्मा दिएको छ । विकास निर्माणमा अनियमितता भएको गुनासो धेरै आएपछि नगरपालिकाले गुनासा र समस्याको समाधान गर्न नयाँ जुक्ति निकालेको बताउँछ ।
गाउँको भेलाले महिलाहरुलाई योजनाको जिम्मा दिएपछि समयमा काम हुने र पारदर्शी हुने सुझाव आएपछि नगरपालिकाले योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलालाई चयन गरेको जानकारी दियो ।
पाटन नगरपालिकाले उपभोक्ता समिति गठन गर्दा महिलालाई प्रमुख पदमा प्राथमिकतामा राख्ने पहिलो कार्यपालिका बैठकबाट नै निर्णय भएको छ । सोही निर्णय अनुरूप अहिले १ नम्बर वडामा निर्माण हुने सबै योजनाको उपभोक्ता समितिमा महिला अध्यक्ष छन् ।
वडामा २३ वटा योजना कार्यान्वयनको चरणमा छ । सबै योजनाको उपभोक्ता समितिमा अध्यक्ष महिला चयन गरिएको वडाध्यक्ष तर्क ठगुन्नाले जानकारी दिए ।
विकास निर्माणका काममा महिलाले नै बढी उपयोग गर्ने गरेकाले उनीहरूलाई नै कामको जिम्मेवारीमा राखिएको उपप्रमुख कमलसिंह बोहराको भनाई छ । उनले आफू उपयोग गर्ने कामलाई उत्कृष्ट बनाउने सोचका साथ महिलाहरूलाई जिम्मेवारी दिएको बताए ।
योजनाको अध्यक्षमा चयन भएका महिलाहरु आफूले लिएको जिम्मेवारी राम्रोसंग बहन गर्ने बताउँछन् । उनी राम्रो काम गरेर देखाउने सोचका साथ काम अगाडी बढाएका छन् ।













