थारू गाउँमा बरघर छान्ने पक्रिया शुरु
कञ्चनपुर, ४ माघ । थारु गाउँमा माघ पर्व सकिएसँगै बरघर तथा भलमन्सा छनोटको प्रक्रिया सुरु भएको छ । थारू बस्तीमा गाउँभरिका सबै भेला भएर बरघर तथा भलमन्सा छान्न थालेका हुन् । गाउँ बस्तीमा हुने सामाजिक कार्यदेखि अन्य गतिविधिको नेतृत्व गर्न बरघर छान्ने गरिन्छ । उनकै नेतृत्व र निर्णयका आधारमा गाउँमा हुने सामाजिक कार्यहरूमा सबैको सहभागिता हुन्छ ।
‘माघ मनाएपछि बरघर छान्न सुरु भएको छ,’ थारू समुदायका अगुवा बेदकोट नगरपालिका ७ का बलबहादुर डगौराले भने, ‘धेरै टोलबस्तीमा सोमबारै बरघर छानिइसकेका छन् ।’
उनको टोल बेदकोट ७ को मन्दिरपुरमा प्रेमबहादुर डगौरा दोस्रो पटक बरघर छानिएका छन् । उनको टोलमा ६२ परिवार छन् । सोमबार बिहानै सबैको भेलाले प्रेमबहादुरलाई बरघर छान्ने निर्णय गरेको हो । यसअघि दुई वर्ष लगातार सीता डगौरा बरघर भएकी थिइन् । थारू समुदायका अगुवा डगौराका अनुसार माघ सकिएको एक हप्तासम्म थारू बस्तीमा बरघर तथा भलमन्सा छान्ने चटारो हुन्छ । उनका अनुसार एक हप्तासम्म सबै गाउँटोलमा बरघर छनोट गरिसक्छन् ।
दुई पुस्तादेखि बरघर
बेदकोट नगरपालिका ९ मा पर्ने लालपुरमा ४ दशकदेखि एउटै व्यक्ति बरघर बन्दै आएका छन् । ५६ वर्षीय धीरेन्द्र डगौरा यस पटक पुनः बरघर छानिए । बुवा छोटेलाल र जेठो बुवा देवीलालका पालादेखि बरघर उनकै परिवारमा छ । धीरेन्द्र पहिलो पटक १६ वर्षकै उमेरमा २०४० मा बरघर छानिएका थिए । त्यतिबेला मन्दिरपुर, लालपुर, बसन्तपुरलगायत गाउँमा एउटै बरघर छानिन्थे । तीन बस्तीमा डेढ सयसम्म परिवार थिए । अहिले लालपुरमा ४६ परिवार मात्रै रहेका छन् । तिनै ४६ परिवारका सदस्यको भेलाले धीरेन्द्रलाई सोमबार पुनः बरघर छानेको हो ।
‘गाउँलेले फेरि मलाई नै जिम्मेवारी दिए,’ उनले भने, ‘बुवाका पालादेखि हाम्रै परिवारमा यो जिम्मेवारी परेको छ ।’ उनीभन्दा अघि उनका बुबा छोटेलाल बरघर छानिएका थिए । उनी तत्कालीन सुडा गाउँ पञ्चायतका उपप्रधान पनि थिए । उनी दुई वर्ष बरघर छानिए । त्यसअघि जेठो बुबाका छोरा परदेशीले पनि बरघर चलाए । जेठो बुवा देवीलालले पनि लामो समय बरघर चलाएको उनले बताए । ‘दुई पुस्तादेखि बरघर हाम्रै परिवारले चलाउँदै आएको छ,’ धीरेन्द्रकी बहिनी सीताले भनिन्, ‘ठूलो बुबा, दाइ र बुबा हुँदै अहिले दाइले नै बरघरको काम गरिरहनुभएको छ ।’ उनी सानै छँदा पनि धीरेन्द्र नै बरघर थिए ।
माघी सकिएपछि वर्षभरिका कामको लेखाजोखासँगै बरघर छान्ने गरिन्छ । समुदायमा बरघर छानेजस्तै घरपरिवारमा पनि मूली छानिन्छ । घरमा एक वर्षमा भएका कामको समीक्षासँगै आगामी कामको योजनासमेत बनाइन्छ । ‘पुरानै मूली बनाउने वा नयाँ मूली छान्ने काम माघीमै हुन्छ,’ भीमदत्त नगरपालिका १ राजीपुरका मानबहादुर चौधरीले भने, ‘घरमा मूली छानिन्छ भने गाउँटोलमा बरघर ।’ भवानी भट्ट













