जहाज दुर्घटनामा बेपत्ताको बिहानैदेखि खोजी शुरु

पोखरा, २ माघ । पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परी बेपत्ता भएकाहरूको सोमबार बिहानैदेखि खोजी शुरू गरिएको छ।

आइतबार साँझ ७ बजेसम्म विमानमा रहेका तीन जना फेला नपरेकाले बिहानैदेखि खोजी शुरू गरिएको हो। सेती नदीको अप्ठेरो खोंचमा जहाज दुर्घटना भएको र रातको समय भएकाले हिजो उद्धार कार्य रोकिएको थियो।

जहाजमा चालक दलका चार सदस्य सहित ७२ जना रहेका थिए। जसमा ५३ जना नेपाली‚ पाँच जना भारतीय‚ चार जना रशियन‚ दुई जना कोरियाली‚ एक जना अर्जेन्टेनी‚ एक जना अस्ट्रेलियन‚ एक जना आइरिस र एक जना फ्रान्सेली नागरिक रहेका थिए। उनीहरूमध्ये आइतबार साँझ सम्म ६९ जनाको शव फेला परेको थियो।

काठमाडौंबाट आइतबार बिहान १०:३२ बजे पोखराका लागि उडेको यती ‘९एन-एएनसी’ कल साइनको जहाज बिहान १०:५० बजे दुर्घटना भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि पोखरा महानगरपालिका १५ सीताराम पुल नजिक सेती खोंचमा झरेको थियो।

पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव सोमबाबार बिहान आफन्तको जिम्मा लगाउने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। यस्तै‚ काठमाडौंका र आफन्त काठमाडौं नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी छ।