पोखरा विमान दुर्घटनामा ६९ जनाको मृत्यु, तीनको खोजी जारी

काठमाडौं, १ माघ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

आइतबार साँझ ७ बजेसम्म ६९ जनाको शव भेटिएको यती एअरलाइन्सले जनाएको छ। दुर्घटनामा हराइरहेका तीन जनाको खोजी जारी रहेको छ।

काठमाडौंबाट आइतबार बिहान १०:३२ बजे पोखराका लागि उडेको यती एअरलाइन्सको ‘एन-एएनसी’ कल साइनको विमान बिहान १०:५० बजे दुर्घटना भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि पोखरा महानगरपालिका-१५ सीताराम पुल नजिक सेती खोंचमा झरेको थियो।

विमानमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। चालक दलका सदस्यमा कमल केसी, अन्जु खतिवडा, सिर्जना होगथुन र ओसिन आले मगर रहेका छन्।

त्यस्तै, ६८ जना यात्रुमा तीन शिशु र तीन बालबालिका सवार थिए। यात्रुमध्ये १५ जना विदेशी नागरिक रहेको केन्द्रले जनाएको छ। जसमा भारतीय नागरिक पाँच, रुसी नागरिक चार, कोरियाली नागरिक दुई, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक(एक जना थिए।
दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको सनाखत भएको छ। उनीहरूका आफन्त तथा साथीभाइले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।