सहमति नहुँदा सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित
धनगढी, २९ पुस । आज बिहान ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सुरुको दिनमा भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि के गर्ने भन्ने बारे प्रदेश सभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो ।
प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यको मोबाइलमा एसएमएस र सभाको सूचना पाटीमा सूचना टाँस गर्दै अर्को बैठक नबोलाए सम्म अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए ।
‘सभाको तेस्रो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँछौँ’ सचिव देवबहादुर बोगटीद्वारा हस्ताक्षर सूचनामा भनिएको छ ।प्रदेश सभा सचिवालयमा आज सभामुख चयनका लागि निर्वाचनको कार्यतालिका रहेको थियो ।
आज बिहान ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदा सम्मको लागि बैठक गरेको सूचना टाँस गरिसकेको छ ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुबै उम्मेदवारले बहुमत पाउन सकेनन् ।
पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुबै पटक २३ मत पाएका थिए ।
कांग्रेसले पुन निर्वाचन प्रक्रियाको माग गरेको थियो । पहिलो दिन भएको निर्वाचनमा बहुमत नआएपछि फेरी सुरुबाटै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने माग कांग्रेसले गरेको थियो सर्वदलीय बैठकमा सहभागी एक नेताले भने एमाले र माओवादीले त्यसको विरोध गरे । तर, सहमति भने जुट्न सकेन ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।














