न्याय खोज्दै लालटिन जुलुस

काठमाडौं, २८ पुस । न्यायका लागि नेपालगञ्जबाट काठमाडौं पुगेका महिलाहरु बिहीबार लालटिन जुलुस निकालेका छन्। दुई सातादेखि माइतीघर मण्डलमा धर्ना दिँदै आएका उनीहरूले लालटिन जुलुस निकालेका हुन्।

नेपालगञ्ज उपमहानगरपालिका १७ की एकल महिला निर्मला कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। तर, प्रहरीले छानबिन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। दुई पटक सरकारले अनुसन्धान गर्ने सहमति गरे पनि कार्यान्वयनमा आएको छैन।

उनीहरू न्यायको माग गर्दै तेस्रो पटक काठमाडौं पुगेका हुन्। दुई सातादेखि माइतीघर मण्डलमा धर्ना दिँदै आएका भए पनि सरकारले वास्ता नगरेको उनीहरूले गुनासो गरेका छन्।

आन्दोनलको अगुवाइ गरिरहेकी अधिकारकर्मी रुबी खानले सरकारले वेवास्ता गरेको बताइन्। “सरकारले न्यायका लागि बारम्बार बार्ता र सहमति गरे पनि अहिलेसम्म न्याय पाइएको छैन,” खानले भनिन्, “महिलाको अपहरणपछि हत्या घटनाको मुद्दा अझै अदालतमा पुगेको छैन।”

सरकार र प्रहरीे वेवास्ता गरेपछि तेस्रो पटक काठमाडौं आउन बाध्य भएको उनले बताइन्। “पुसको चिसोमा माइतीघर मण्डलमा धर्ना दिइरहेका छौं,” खानले भनिन्, “यति नजिकै सिंहदरबार छ, तर वास्ता गरेको छैन। दिउसै लालटिन बाल्नु परिरहेको छ।”

न्याय नपाउँदासम्म आन्दोलन जारी रहने उनले बताइन्। उनीसँगै नेपालगञ्जबाट आएका ११ जना महिला माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्।