पाँच वर्षमा प्रदेश सरकारले गर्यो ८० अर्बबढी खर्च

कैलाली, २७ पुस । सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षको अवधिमा ८० अर्ब भन्दा बढी खर्च गरेको छ । पाँच वटा पूर्णकालीन बजेट ल्याएको प्रदेश सरकारले सो अवधिमा ८० अर्ब पाँच करोड २३ लाख ६६ हजार रुपैयाँ बजेट खर्च गरेको जानकारी दियो ।

प्रथम प्रदेश सरकारको कार्यकालको अन्तिम दिन आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सो विवरण प्रस्तु गरेको थियो ।

यो अवधिमा कुल एक खर्ब, ५३ अर्ब ६९ करोड ४९ लाख १७ हजार रुपैयाको बजेट प्रस्तुत गरेको थियो । जसमा आर्थिक वर्ष २०७५/७६ मा १४ अर्ब १९ करोड ५९ लाख (५६.६३ प्रतिशत), आर्थिक वर्ष २०७६÷७७ मा १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ (६२.८२ प्रतिशत) बजेट खर्च भएको थियो । यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा २२ अर्ब ९७ करोड ५३ लाख (६८.८३ प्रतिशत) र आर्थिक वर्ष २०७८/७९ मा २० अर्ब ९६ करोड ६१ लाख रुपैयाँ (६९.११ प्रतिशत) बजेट खर्च भएको थियो ।

प्रदेश संरचना स्थापित भएपछि नीति, योजना तथा बजेट व्यवस्थापनका लागि मन्त्रालयले पाँच वटा ऐन, तीन वटा नियमावली, एक वटा निर्देशिका, सात वटा कार्यविधि र तीन वटा मापदण्ड तर्जुमा गरी कार्यान्वयन समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दियो ।

प्रदेश सरकारको पाँच वर्षे अवधिमा १० महिनासम्म मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री प्रकाश रावलले प्रदेश सरकारको जगलाई अझै मजबुत हुनेगरि आफूले इँटा थप्ने काम गरेको बताए ।

उनका अनुसार चालू आर्थिक वर्षको पुस २५ गतेसम्म चार अर्ब २२ करोड २८ लाख ७५ हजार रुपैयाँ बजेट खर्च गरिएको छ । यो अवधिमा ११.४९ प्रतिशत बजेट खर्च भएको हो । चालू आर्थिक वर्षको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ छ ।

चालू आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले ५६ करोड ८५ लाख ३९ हजार रुपैयाँ राजस्व संलन गरेको छ । पाँच वर्षमा ५ अर्ब ९८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएपनि ४ अर्ब ३५ करोड ७७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।