नमस्ते बचत तथा ऋण सहकारीलाई बार्षिक १ करोड नाफा  

कैलाली २६ पुस । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई वार्षिक एक करोड नाफा भएको छ । सहकारी संस्थाले २० औं साधारण सभामा यस्तो जानकारी दिएको हो ।

संस्थाका प्रबन्धक विजय चौधरीले आजसम्म सहकारीमा ६ हजार ८४ शेयर सदस्य पुगिसकेको र आर्थिक मन्दीको यो बर्ष पनि संस्थाले १ करोड नाफा गरेको जानकारी दिएका हुन् ।

नमस्ते सहकारीका पूर्वप्रबन्धक कुन्न नारायण चौधरीले २५ जनाले ५÷५ हजारका दरले संस्थाको सुरुवात गरेको र हाल यो अवस्थामा पुगेकोले खुशी ब्यक्त गरे । राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रावलले नमस्ते सहकारीको कार्यशैली, ब्यवस्थापन, यसले सञ्चालन गरिरहेको लघुबित्त शैली अरु भन्दा फरक रहेकोले राष्ट्रिय सहकारी बैंकको नजरमा प्रदेश स्तरमा राम्रो सहकारीको रुपमा छनौट भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि धनगढी उमहानगरप्रमुख गोपाल हमाल (गोपी) ले बिगमा पश्चिम तराईमा रिक्सादेखि घर निर्माणसम्मका सबै काम भारतीय नागरिकहरुले गर्ने र भारतमा करोडौं रुपिया जाने गरेको तर अहिले ती काम थारुहरुले सम्हाल्दै करोडौं रकम भारत जानबाट रोकेकाले थारुहरु सुदूरपश्चिमका शान रहेको बताए ।

त्यसै गरी, नवजीवन सहकारीका संचालक समितिका सदस्य शिवकुमार फुलाराले नमस्ते सहकारीले राखेको बासलातले सहकारी संस्था राम्रो रहेको र यसले भविष्यमा अझ प्रगति गर्न सक्ने बताए ।

संस्थाले आफ्ना उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी, उत्कृष्ट समूहलाई सम्मान गरेका थिए । साथै आमन्त्रित प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

साधारण सभा नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतराम चौधरीको अध्यक्षतामा भएको थियो भने राष्ट्रिय सहकारी बैंक धनगढी शाखाका प्रबन्धक कृष्ण बहादुर रावल, थाकस कैलालीका काबा अध्यक्ष माधव थारुले शुभकामना मन्तब्य दिएका थिए ।