गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटनामा चार नेपालीको मृत्यु

धनगढी, २५ पुस । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस दुर्घनामा परि चार नेपालीको मृत्यू भएको जनाइएको छ । आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो ।

प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको जनाएको छ । बसमै यात्रारत टीकापुरका स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ तर उनीहरुको परिचय खुलेको छैन । बसमा सवार अन्य केही घाइते छन् । बसमा ६६ जना यात्रु रहेको जनाइएको छ ।

टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन् । तर उनीहरु स्वेच्छिक रुपमा सञ्चालन हुन्छन् । सुदूरपश्चिम बस व्यवसायी समिति धनगढी काउन्टरका प्रतिनिधिले समितिसँग त्यसरी भारतबाट सञ्चालन हुने बस यातायातबारे कुनै जानकारी नभएको र जवाफदेही पनि नहुने बताएको छ ।

दुर्घनाग्रस्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको साउद बताउँछन् । तर उक्त बसको नम्बर खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले घटनाबारे अनौपचारिक जानकारी आएको भएपनि यथार्थ थाहा नभएको र बुझ्ने कार्य भइरहेको बताए । यसरी सञ्चालन हुने बस सेवाबारे आफूहरुलाई जानकारी पनि नहुने उनको भनाइ छ । दुर्घटना भयो भन्ने समाचार आएको छ । तर उता (भारततर्फ) बाट आधिकारिक केही खबर आएको छैन । जोशीले भने ।