कपडा पसलमा आगलागी हुँदा ६० लाखको क्षति
कैलाली, २३ पुस । धनगढी उपमहानगरपालिका १९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय बहुलियाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।













