“भोको पेटले उमेर देख्दैन ”
धनुषा, २३ पुस । धनुषाको धनौजी गाउँपालिका–२, गौरदाहाका लगन महरा ८१ वर्ष पुगेछन् । ज्यानले अशक्त तर श्रीमती र परिवारको पेट पाल्न यो उमेरमा पनि उनी कृषि मजदुरी गर्न बाध्य छन् । श्रम बन्धकीमा परेपछि महरा अरूको खेतबारीमा काया खियाउन विवश छन् उनी ।
विगत १५ वर्षदेखि गाउँकै साहु जगदीश मण्डलको खेतबारीमा हरुवाचरुवाका रूपमा काम गर्दै आएको महरा घरमा आराम गरेर बस्नुपर्ने भए पनि काम गर्नुपर्ने हाम्रो बाध्यता सुनाउँछन् । उनी भन्छन् “भोको पेटले उमेर देख्दैन।”
काम गरेबापत ज्यालामा साहुले आठ किलो धान दिने गरेको छ । त्यही धानबाट छाक टार्ने र औषधि उपचार गर्छन् । घर भत्किसकेको छ । उनी भन्छन् “यो घरबाहेक हाम्रो अरू कुनै सम्पत्ति छैन।”
साहु जगदीशले हरुवाचरुवा गर्ने र उब्जनी गरेर खाने सर्तमा पाँच कट्ठा जग्गा पाएका छन् । त्यसबापत उनले शाहुको कामपनि गर्छन् । साहुले भनेको काम जसरी पनि गर्नुपर्छ।
महराको छ धुर जग्गामा बनेको फुसको घर छ। घरको केही भागको छाना र बेरा च्यातिएको छ। चिसो र वर्षाको पानी छल्न प्लास्टिक ओछ्याउछन् । उनीसंग दूई श्रीमति छन् । कान्छी र जेठीतर्फबाट गरी छ जना छोराछोरी छन्। सबैले विवाह गरिसके । “हामीलाई कसैले वास्ता गर्दैनन्। हामी बूढाबूढीलाई हेरचाह गर्ने कोही छैनन्”, महरा भन्छन् ।
सँगै बस्दै आएकी ७२ वर्षीया कान्छी श्रीमती महावती महरा १० वर्षदेखि अशक्त छन् । हिँडडुल गर्न सक्दैनन् । उनकै उपचार गर्न महराले तीन वर्षअघि गाउँकै मिथिलेश साहसँग एक लाख रुपियाँ ऋण लिएका थिए । तमसुक बनाएर सयकडा तीनका दरले ऋण लिए । अहिले “ब्याज जोडेर त्यो पैसा धेरै भएकाले त्यही साहुकोमा काम गर्छन् ।
गौरदाहा टोलकै ५० वर्षीय विन्देश्वर महरा पनि बँधुवा मजदुरका रूपमा काम गर्छन् । उनले पनि गाउँकै रामकुमार मण्डलकोमा पाँच वर्षदेखि काम गर्दै आएका हुन् । साहुले उनलाई पनि हरुवाचरुवा गर्ने सर्तमा उब्जाउनका लागि पाँच कट्ठा जग्गा दिएका छन्। हरुवाचरुवा काम गरेबापत पाउने आठ किलो धानले नौ जनाको परिवार ढानेका छन् ।
विन्देश्वरको आर्थिक अवस्था पनि दयनीय छ। सात धुर जग्गामा बनेको एउटा सानो घरमा श्रीमती, चार जना छोराबुहारी र तीन जना नाति नातिनीसहित बस्छन् । उनलाई आठ किलो धानले बाँच्न निकै समस्या छ।













