चिसोले विरामीको चाप बढ्दै, शरिरलाई न्यायो राख्न डाक्टरको सुझाव

कैलाली, २३ पुस । जाडो महिना सुरु भएसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, सुक्खा खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, बान्ता लगायतका समस्या लिएर अस्पताल आउनेको संख्या बढ्न थालेको हो ।

सेती प्रादेशीक अस्पताल इर्मेजेन्सीका इन्चार्ज डा. भरत खातीका अनुसार शीतलहरले गर्दा अत्याधिक चिसो बढेको छ । अहिले अस्पतालमा आउने विरामी रुघा, खोकी, ज्वरो, सुक्खा खोकी, घाँटी दुख्ने, डम, निमोनियाका विरामी दैनिक ५०–६० जना आईरहेका छन् । जस मध्ये चिसो लागेर विरामी हुने १५–२० जना भेटिन्छन् ।

उनले अस्पतालमा आउने विरामी मध्ये बढी जस्तो बच्चा र बुढापाखाहरु रहेको बताए । ‘चिसो याममा मौसमी फ्लूको भाइरस सक्रिय हुने भएकाले साना बालबालिका चाँडै संक्रमित हुन्छन् । परिवारको एक जनामा मौसमी फ्लू संक्रमण भएमा अन्यलाई पनि सर्ने भएकोले बालबालिका र बुढापाखा छिट्टै प्रभावित हुन्छन् ।’

जाडो याममा झ्याल ढोका बन्द गरि सबै जना एकै ठाउँमा झुम्मिएर बस्दा श्वासप्रश्वासका माध्यमबाट लाग्ने रोगहरुले चाँडै आक्रमण गर्ने डा. खाती बताउँछन् ।

डा. खाती भन्छन् ‘सामान्यतया मौसमी फ्लू बालबालिकामा देखिएको पाँच दिनदेखि सात दिनमा आफै निको भएर जान्छ तर बालबालिकामा रुघाखोकी सहित अन्य रोग पनि लागेको वा दीर्घरोगी छन् भने सामान्य ठान्न हुँदैन । बालबालिकालाई खोकी लाग्नु, ज्वरो आउने, घ्यारघ्यार हुनु, चाँडैचाँडै श्वास फेर्नु, खाना खान नमान्नु, दुध चुस्न नमान्नु र बोल्न, चल्न खोजेनन् भने निमोनिया पनि हुन सक्छ ।’

चिसोबाट बच्ने उपाय

डा. खातीका अनुसार चिसोबाट बच्नकोलागि टाउको, कान, हातखुट्टा न्यानो हुनेगरी कपडा लगाउनुपर्छ । साना शिशुलाई हातखुट्टा, तालु छामेर चिसो भए–नभएकोबारे आमाहरुले विशेष ख्याल गर्नुपर्ने हुन्छ । शिशुलाई नियमित रुपमा स्तनपानसँगै सन्तुलित पौष्टिक आहार खुवाउने ।

कोठालाई न्यानो बनाउनलाई हिटर बाल्ने तर हिटर धेरै बाल्नु हुदैन । हिटरले हाम्रो शरिरको तरल पर्दाथ सोस्छ जसले गर्दा हिटर बाल्दा छेउमा छेउमा पानी राख्नुपर्छ । पानीको वाफले हाम्रो शरिरलाई मोेस्टराईज गरिराख्छ ।

त्यस्तै शरिरलाई न्यायनो बनाउन तेल मालिस गर्ने, झोलिलो खानेकुराहरु जस्तै माछा अण्डाको सुप बनाएर खाने सुझाव दिए ।