थारु समुदायमा माघको पर्वको रौनक

कैलाली, २१ पुस । पश्चिम तराईका थारु समुदायले माघ पर्वको तयारीमा जुटिसकेका छन् । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दांग जिल्लामा बसोबास गर्दै आएका थारू समुदाय माघ पर्वको तयारीमा जुटेका हुन् । थारु समुदायमा माघ पर्व सबैभन्दा ठूलो पर्वको रुपमा मनाउछन् । जुन कारण हप्तादिन अगाडिबाटै तयारीमा जुट्न थाल्छन् । माघ थारू समुदायको नयाँ वर्ष पनि हो। थारू नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्छ।

सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि रहेकाले धुमधामसँग मनाउने गरिएको कैलारी गाउँपालिका–८ दुधियाका राजाराम चौधरी बताउँछन् । उनका अनुसार माघ पर्वको लागि जिता खोज्ने, पात टिप्ने, डाउरा खोज्ने जस्ता गतिविधिबारे गाउँमा छलफल भईरहेको छ । माघ पर्वमा बङ्गुरको मासु नभई नहुने चलन छ । “माघमा बङ्गुर मार्ने र मासु लिनेको लिस्ट अगाडि नै बनिसकेको हुन्छ ।

पर्वको चहलपहलसंगै गाउँघरतिर माघ सम्बन्धित गीत पनि गुञ्जिन थालेका छन्। जुन कारण पर्वको रौनक नै छुट्टै देखिन्छ । अहिले मान्छेहरू जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा जुटेका छन्।

माघ पर्वमा नभई नहुने अर्को परिकार ढिक्री हो। जुन चामलको पिठोबाट बनाइने गरिन्छ। ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानी, पिसानीको कार्य भइरहेको कैलारी गाउँपालिका–१, मोहनपुरकी फूलरानीदेवी चौधरीले बताए। “बिस्तारै बिस्तारै गाउँघरका सबै जना तयारीमा जुटेको देखिन्छ,” उनले भने, “हाम्रो पनि तयारी भइरहेको छ।”

थारु समुदायमा विशेषगरि तीन दिनसम्म माघ पर्व मनाउने गर्छन्। पुस अन्तिम दिनबाट पर्व सुरु हुने गर्छ। पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ। कतिपय गाउँ, ठाउँमा यस दिन नाचगान पनि हुने गर्छ। माघ १ गते अर्थात् पर्वको दोस्रो दिनलाई ‘लहान’ भन्ने गरिन्छ। यो दिन बिहानै नदी, दह, तलाउमा नुहाइधुवाई र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने गरिन्छ। यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नुका साथै ढिक्री, मासुलगायतका परिकार खाने गरिन्छ। पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको बताइन्छ।

माघ पर्वको तेस्रो अर्थात् खिचरहुँवा (खिचडी) पकाएर खाने चलन छ । उसरी त थारु समुदायमा माघ महिनाभरि पर्व जस्तै हुन्छ । घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने, गाउँको नेतृत्व (भलमन्सा) चयन गर्ने काम माघमा नै गरिन्छ । माघ पर्व मनाउनका लागि देश, विदेशमा रहेकाहरु पनि घर फर्कने गर्छन्।