‘टीकापुर राजबन्दीको रिहाई नभए माघपछि सदन चल्न दिँदैनौ’

कैलाली, १८ पुस । नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले टीकापुर घटनाको निकास नदिए माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिए । सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने ‘हाम्रो लागि आजको मितिदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेको छ । हामीले ५ वर्षमा काम गर्न नसके व्यर्थ जाने निश्चित छ । त्यसैले हामी गम्भीर हुन जरुरी छ ।’

उनले २०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घटेको बताउँदै राजनीतिक अधिकारको क्रममा भएको घटनामा राज्यले थारु समुदायलाई ठूलो अन्याय गरेको छ, टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास दिन नसकेको उनको तर्क थियो ।

‘घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ । टीकापुर घटना समाधानले मात्रै समाज विकास हुनेछ । यदि माघभित्रै निकास नदिए त्यसपछिको अधिवेसन चल्न दिने छैनौ’ चौधरीले भने ।

संघीय सरकारमा बाहिर बसेर समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक देखिएको यो पार्टीले मुख्यमन्त्रीमा समेत दाबी गरेको छ ।

यस्तै प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजेको बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिए ।

उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशक दिएका हुन् । नेपालको संविधान १८१ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम ७ बमोजिम सभामुखको निर्वाचनका लागि पुस २८ गते दिउसो १ बजेका लागि समय निर्धारण गरिएको हो ।

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेश सभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्व सहमतिले स्वीकृत गरेको छ ।