हक अधिकारका लागि संगठित होऔं : थारु अगुवा
कैलाली, १७ पुस । थारु अगुवाहरुले आफ्नो हक अधिकार तथा पहिचानका लागि संगठित हुन आवश्यक रहेको बताएका छन् । धनगढीमा भएको एक कार्यक्रममा उनीहले थारु समुदायको अधिकार तथा पहिचान जोगाउनका लागि एकजुट भएर अघि बढ्नु पर्ने बताएका हुन् ।
अधिवक्ता जोहारीलाल चौधरीले भने ‘थारु समुदाय आफ्ना हक अधिकार र पहिचानका लागि राज्य सामु उठाउनु पर्ने धेरै माग मुद्दा र विषयबस्तु रहेका छन्’, उनले भने–‘थारु समुदायमा राजनीतिक रुपमा चेतना तथा अग्रसरता बढे पनि अझै आफ्ना माग मुद्दा सम्बोधनका लागि आवाज उठाउन नसकेको अवस्था रहेको छ।’
उनले जुनसुकै विचारधारा तथा नेतृत्वदायी भूमिकामा रहेका पार्टीका थारु नेतृत्वलाई थारु समुदायको हक अधिकार तथा पहिचानका लागि संगठित भएर आवाज उठाउन पनि औंल्याएका थिए ।
उनका अनुसार थारु समुदायका हक अधिकारका थुप्रै विषयवस्तु उठाउनुपर्नेछन् । थारु समुदायको पहिचान लगायत विभिन्न ठाउँमा प्रतिनिधित्वको सवालका विषयहरुलाई प्राथमिकताका साथ उठाउनुपर्छ । अधिवक्ता चौधरीले राजनीतिक सवालमा चेतना र अग्रसरता भए पनि अझै थारु समुदाय आफ्ना माग मुद्धा हक अधिकार र पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित हुनु परेको बताए ।
थारु अगुवा तथा पूर्व शिक्षक गुरुप्रसाद चौधरीले थारु समुदायका माग मुद्दा लिएर राजनीतिमा स्थापित हुने तर पछि उक्त मुद्दालाई नै ओझेल पारिनुले थारु समुदाय आफ्ना हक अधिकार पाउन नसेकेको बताए ।
उनले भने–‘चुनावका बेला थारु समुदायका हक अधिकार तथा माग मुद्दाको विषय धेरै उठ्ने गर्दछन् । उक्त माग मुद्दाले थारु समुदायका नेतृत्वकर्ता राजनीतिमा स्थापित पनि भएका छन् । तर उनीहरु आफ्ना पार्टी भन्दा माथि उठ्न नसक्नु र माग मुद्दाबारे सम्बन्धित ठाउँमा आवाज उठाउन नसक्नुले थारु समुदायका हक अधिकार तथा पहिचानका मुद्दा आझेल पर्दै गएको छ ।’
‘जबसम्म थारु नेतृत्वकर्ता आफ्नो पार्टी भन्दा माथि उठेर थारु समुदायका लागि आवाज उठाउन सक्तैनन्, तबसम्म थारु समुदाय आर्थिक, सामजिक, राजनीतिक रुपमा पछाडि त हुन्छन् नै आफ्ना हक अधिकारबाट पनि वञ्चित नै रहन्छन्’, उनले भने ।
धनगढी नगरपालिका स्तरीय भलमन्सा समितिका अध्यक्ष रोहित चौधरीले आफ्ना माग मुद्दाका लागि जुनसुकै संघसंगठनले क्रियाशिल भएर लाग्नु पर्ने बताएका थिए । थारु समुदायले आफ्ना हक अधिकारका लागि क्रियाशिल नभएकै कारणले विभिन्न माग मुद्दा सम्बोधन हुन नसकेको उनले बताए ।
कार्यक्रममा थारु अगुवा बुन्दीलाल चौधरीले थारु समुदायका हकअधिकारमा वकालत गर्ने संघ संगठनलाई क्रियाशिल बनाउनु पर्ने बताएका थिए ।समाजसेवी धनबहादुर चौधरीले थारु समुदायले आफ्ना हक अधिकारका सवालहरु सम्बन्धित ठाउँमा स्पष्ट राख्न नसक्नुले अधिकारबाट वञ्चित हुनु परेको बताए ।
युवा अभियन्ता ठाकुरप्रसाद करिया प्रधानले थारु समुदायका हक अधिकारका सवालमा कार्ययोजना बनाएर उक्त कार्ययोजनालाई कार्यान्वयन गर्नु पर्ने आवश्यक रहेको बताए ।कार्यक्रममा थारु नागरिक समाजकी सदस्य बसन्ती चौधरी थारु समुदायको हक अधिकारका लागि रणनीतिक रुपमा अघि बढ्नु पर्ने बताएकी थिइन् ।
शिक्षक राजकुमार महतोले थारु युवालाई थारु भाषा, कला तथा संस्कृति र आफ्ना हक अधिकारका विषयमा सचेत गर्न आवश्यक रहेको बताएका थिए ।थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरीले थारु समुदायका हक अधिकारका लागि राम्रो सुझाव आएको बताए । उनले उक्त सुझावका आधारमा अगामी कार्ययोजना बनाएर अघि बढ्ने पनि बताए ।
थारु नागरिक समाज कैलाली अध्यक्ष दील बहादुर चौधरीले थारु समुदायका हक अधिकारका लागि सबै जना एकजुट हुन आवश्यक रहेको बताए । उनले हक अधिकार तथा अन्य विषय बस्तुमा पनि थारु समुदाय संगठित हुनु पर्ने बताएका थिए ।
कार्यक्रम थारु काल्याणकारिणी सभा कैलाली र थारु नागरिक समाज कैलालीको आयोजनामा भएको थियो । २०७२ सालको संविधान निर्माणको क्रममा थारु समुदायले संगठित भएर आवाज उठाएका थिए । संविधान जारी हुनुभन्दा पहिले थारु समुदायको आन्दोलन सशक्त बनेको थियो। संविधान जारी निर्माण पश्चात पनि यो समुदाय आफ्नो हक अधिकारका लागि संघर्षरत थिए ।













