सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए सपथ

कैलाली १५ पुस । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हलमा शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यका रूपमा रावलले शुक्रबार नै प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिएका थिए ।

पद तथा गोपनीयताको सपथ लिँदै गर्दा प्रदेशसभाका सदस्य गीताकुमारी चौधरी निकै हर्सित थिइन् । कञ्चनपुर–२ बाट समानुपातिकतर्फ निर्वाचित उनि ५३ जना सदस्य मध्ये सबै भन्दा सानो उमेरका छिन् ।

डगौरा थारु पहिरनको आकर्षक पहिरन र चम्किलो मुद्रामा सपथ ग्रहण गर्न आइपुगेकी गीतासँग अन्य कार्यकर्ता, आफन्त र शुभेच्छुकलाई प्रदेशसभा सचिवालय परिसरमा सेल्फी र सामूहिक तस्बीर लिन भ्याइनभ्याइ थियो ।

उनी भन्छिन् “थारु समुदायको छोरीलाई सांसदमा पु¥याएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिन्छु,” नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित उनले भनिन्, “प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुग्दा चुनौतीसँगसँगै अवसर पनि छ, आफूले थारु, दलित र महिलाको हकहितका लागि काम गर्नेछु।”

नवनिर्वाचित प्रदेशसभाका सदस्यलाई ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले रावलले प्रदेश सभका अन्य ५२ सांसदलाई शपथ गराएका हुन् । ४६ जनाले नेपाली भाषा र ६ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिन विभिन्न संस्कृति झल्किने पोसाकमा उपस्थित भएका थिए । नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले थारु भाषामा शपथ ग्रहण गरेका र अन्यले नेपाली भाषामै शपथ ग्रहण गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन् । प्रदेशसभामा ६ दलको सहभागिता छ । १९ सिट ल्याएको नेपाली कांग्रेस प्रदेश संसद्मा सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । तर शुक्रबारसम्मको अवस्थामा कांग्रेस ठूलो दल भए पनि प्रतिपक्षमा रहने निश्चितजस्तै छ । यसैगरी, ११ सिट ल्याएको माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने १० सिट ल्याएको एमाले तेस्रो स्थानमा छ ।

सुदूरपश्चिम प्रदेशसभामा चौथो दलका रूपमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । उक्त पार्टीका ७ जना सांसद छन् । ४ जना सांसद रहेको एकीकृत समाजवादी पाँचौ स्थानमा छ भने प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकबाट राप्रपाका एक जना सांसद निर्वाचित भएका छन् । त्यस्तै एक जना स्वतन्त्र सांसद छन् ।

नागरिक उन्मुक्ति पार्टीबाहेक अन्य दलले संसदीय दलको नेता चयन गरेका छैनन् । नागरिक उन्मुक्तिले रामेश्वर चौधरीलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ । नयाँ गठबन्धन बनेपछि सरकारको नेतृत्वमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एमालेले दाबी गरिरहेका छन् ।

सपथ लिएपछि प्रतिक्रिया दिनुहँदै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरीले थारु समुदायका माग र मुद्दालाई सरकारले न्यायोचित ढङ्गले सम्बोधन गर्नुपर्ने बताए । “टीकापुर घटनाका राजबन्दी रिहाइ नभएसम्म कसैलाई सरकार बनाउनमा सहयोग गर्दैनौं र सरकारमा सहभागी हुँदैनौँ”, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेतासमेत रहेका चौधरीले भने, “राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुप¥यो ।”

प्रदेशसभामा प्रतिनिधित्व गर्ने थारु समुदायका छ जनाले आफ्नो मातृ भाषामा सपथ लिएका थिए ।