‘थारु कला, संस्कृतिको खोज गर्ने खजाना हो भादा गाउँ’
यतिबेला कैलालीको भादावासी निकै व्यस्त छन् । उसै पनि वर्षैभरि अन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागिरहने धनगढी उपमहानगरपालिका–१६, थारु होमस्टे गाउँ भादामा महोत्सव नै सञ्चालन हुने भएपछि व्यस्तता थपिएको हो ।
थारु परिकारको स्वाद लिन चाहने, थारु कला, संस्कृतिमा रम्न चाहने र खोज अनुसन्धान गर्नेहरुका लागि खजाना हो भादा गाउँ । विशुद्ध थारु समुदायको मात्रै बासोबास भएको यो गाउँमा पुस १४ देखि १७ गतेसम्म थारु होम स्टे गाउँ भादा महोत्सव २०७९ आयोजना हुँदैछ । स्थानीयवासीले विभिन्न ११ उपसमिति गठन गरी तयारी थालेका छन् ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार १७ घरमा सञ्चालनमा रहेको होमस्टेलाई थप सुधार र विस्तार गर्दै अब अटेच बाथरुमसहित २० घरमा सञ्चालन गरिएको छ ।
‘बाह्य पर्यटकलाई लक्षित गरी होमस्टेको सेवामा सुधार र विस्तार गर्दै गरेका छौं । आएको पहुनाले बाल्टिनको पानी बोकी चर्पी पुग्नु, बाहिर नुुहाउन जानु, समय सान्दर्भिक छैन । कच्चीभित्रै व्यवस्थित रुपमा अटेच बाथरुमको व्यवस्था छ । अन्य होमस्टेमा पनि यही छ,’ अध्यक्ष चौधरीले भने ।

भादामा हालसम्म ३५ हजारभन्दा बढी आन्तरिक र ४ सय बढी बाह्य पर्यटकले अवलोकन गरेका छन् । त्यसको दोब्बर पर्यटकलाई आकर्षित गर्ने योजना स्थानीयको छ ।
होमस्टे सञ्चालनपछि थारु परिकार, कला, संस्कृति, भेषभुषा तथा रहनसहनको संरक्षण तथा प्रवर्द्धन भएको बताउँदै समितिका कोषाध्यक्ष पदम चौधरीले व्यावसायिकताले स्थानीयको जीविकोपार्जनमा सुधार आएको उल्लेख गरे ।
स्थानीयहरुले पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँच प्रदर्शन गर्दै आएका छन् भने मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुँवाको रक्सी, चामलको रक्सी र झोललगायतको व्यवस्था गर्दै आएका छन् ।
यतिमात्रै होइन, स्थानीयले पर्यटकलाई गाउँ अवलोकन गराउन थारु समुदायको परम्परागत लहरुमा शयर गराउँदै आएका छन् भने नजिकै रहेको जोगिनिया तालमा पनि डुंगामा शयर गर्ने व्यवस्था मिलाइएको छ । उसो त भादा गाउँको करिब डेढ किलोमिटरको दुुरीमा अर्को पर्यटकीय क्षेत्र कोइलहुवा ताल पनि छ ।
भादामा गैरथारुलाई किन अशुभ ?
धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा रहेको भादा विशुद्ध थारु बस्ती हो । हाल २७५ घर घरधुरीको बसोबास रहेका भादामा गैरथारु समुुदायले स्थायी बासोबास गरे अनिष्ट हुने, हानी नोक्सानी हुने जनविश्वास छ ।

समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार केही दशक अगाडि भादामा केही गैरथारु समुुदायका व्यक्तिले स्थायी बसोबास गर्न चाहेका थिए । तर उनीहरुको परिवारजनमा दुःख, बिरामी पर्दै जाने समस्या देखिएपछि अन्यत्र बसाई सर्न बाध्य भएका थिए ।
अध्यक्ष चौधरीका अनुसार सदियौं पहिले तान्त्रिक विद्यामा निपूर्ण भएका थारु समुदायका भगौती दास नाम गरेका व्यक्तिले हालको भादामा बस्ती बसाएका हुन् । उनले दाङ जिल्लाको हेकुली, वैवांङ हुँदै कैलालीको भादामा बस्ती बसाएको कथन छ ।
उनले यस्तो बस्ती बसाउन चाहन्थे कि, जहाँ थारु बाहेक अरु जातिका मानिस बस्न नसकुन् । उनले भादामा वस्ती बसाउँदै आफ्नो कुल देवता ‘जगरनठिया’ स्थापना गरी भाकल गरे– अन्य जातिको बसोसास हुन नदिनू ।
उनै भगौतीदासको भाकल तथा दैवी शक्तिको प्रभावले हालसम्म थारु जाति बाहेक अन्य कसैको बासोबास नरहेको अध्यक्ष चौधरीले विश्वास व्यक्त गर्छन् ।
उनै भगौती दासको नामको पहिलो अक्षर भगौतीको ‘भा’ र दोस्रो शब्द दासको पहिलो अक्षर ‘दा’ बाट गाउँको नाम नै ‘भादा’ रहन गएको बताइन्छ ।













