प्रधानमन्त्री बन्ने बारे सहमति जुटाउन सकस

काठमाडौं, ९ पुस । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा दावी नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आलोपालो प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल प्रचण्डलाई छोड्नेगरी सर्त अघि सारेका हुन् ।

तर, प्रचण्डले भने ‘पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुनुपर्ने’ पुरानै अडान दोहो¥याएपछि कुरा मिल्न नसकेको स्रोत बताउँछ । पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि ‘पहिलो कार्यकाल को प्रधानमन्त्री हुने ?’ भन्नेमा विवाद हुँदै आएको छ । सोही कारण ‘प्रधानमन्त्री’ विषय पेचिलो बन्दै गएको छ ।

कांग्रेसभित्र संस्थापन र संस्थापनइतर दुवै समूहले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने सामान धारणा राखिरहेका छन् । कांग्रेस महामन्त्री गगन थापाले ‘आलोपालो प्रधानमन्त्रीको कुनै पनि गोप्य सहमति कांग्रेसका लागि मान्य नहुने र कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने’ बताउँदै आएका छन् ।

बुधबार संसदीय दलको नेतामा पराजित भएपछि कांग्रेस महामन्त्री थापाले ‘अँध्यारो कोठामा हुने आलोपालो निर्णय नमान्ने’ चेतावनी दिएका थिए ।संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय भोलि आइतबार साँझ ५ बजे सकिँदै छ ।

त्यतिबेलासम्म प्रधानमन्त्री दावी पेस गरिसक्नुपर्नेछ । त्यस्तो दावी कसैले पेस गर्न नसकेमा राष्ट्रपतिबाट ७६ (३) अनुसारको सरकार गठन गर्न आह्वान हुनेछ । ७६ (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेता प्रधानमन्त्री चुनिन सक्ने व्यवस्था छ । त्यो प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ ।