रानाथारु समुदायबाट प्रतिनिधित्व शून्य
कैलाली, ५ पुस । प्रतिनिधि र प्रदेश सभामा आदिवासी जनजाति राना थारु समुदायको प्रतिनिधित्व शून्य भएको छ । मुलुकमा गणतन्त्र आएपछि यो समुदायमा राजनीतिक चेत बढ्दै गएपनि भर्खरै सम्पन्न निर्वाचनबाट भने कानून बनाउने स्थानसम्म उनीहरुको प्रतिनिधित्व हुन सकेन ।
नेपालको दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास रहेको यो समुदायबाट एक जना पनि प्रतिनिधि र प्रदेश सभामा निर्वाचित हुन नसक्दा उक्त समुदाय चिन्तित बनेको छ ।
प्रत्यक्षबाट प्रतिनिधित्व हुन नसकेको यो समुदायलाई समानुपातिकतर्फ पनि उपेक्षा गरिएको छ । प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेश सभामा मौका पाएका राना थारु समुदायका उम्मेदवार पराजित भए । यसैगरी, राजनीतिक धरातल कमजोर पछाडि परेको समुदायको प्रतिनिधित्व सुश्चित गर्ने समानुपातिक प्रणालीबाट पनि राना थारु समुदायको प्रतिनिधित्व हुन सकेन । केही दलले नाम सिफारिस गरे पनि राना थारु समुदायका व्यक्तिलाई सांसद वा प्रदेश सभा सदस्य बन्ने सूचीमा पारेनन ।
संवैधानिक रुपमा समानुपातिक सहभागिता हुनु पर्ने व्यवस्था रहेको यो देशमा सिङ्गो एउटा समुदायको प्रतिनिधित्व नहुनु दुःखद पक्ष रहेको युवा बुद्धिजिवी नारायण रानाले बताए । ‘यसमा हामी दुखित छौं’, उनले भने,‘यसले राजनीतिक धरातल कमजोर भएको समुदायलाई दलहरुले उपेक्षा गरेको देखियो ।’
यस पटकको निर्वाचनमा केही दलले राना थारु समुदायबाट उम्मेदवार बनाएका थिए । प्रत्यक्षबाट चुनाव जित्न नसकेपनि यो समुदायका मानिसले समानुपातिकबाट राना थारु समाजका पूर्व अध्यक्ष जीवन रानाको प्रतिनिधित्व सुनिश्चित हुने अपेक्षा गरेका थिए । तर, नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि बन्द सूचीमा परेकी उनी पनि सांसदका लागि छनोट भइनन् ।
यसैगरी, प्रदेश सभामा सहभागी भएका छ राजनीतिक दलमध्ये नेपाली कांग्रेसबाट झेली राना, राप्रपाबाट लीलादेवी राना, कृष्ण चन्द राना र पदम रानाको नाम बन्द सूचीमा थियो । तर, कोही पनि प्रदेश सभा सदस्यका लागि छनोटमा परेनन् ।
यसअघि, २०७४ को निर्वाचनमा राना थारु समुदायबाट एक जना सांसद र दुई जना प्रदेश सभा सदस्य थिए । एमाले नेता नारदमुनि राना प्रत्यक्षबाट सांसदमा निर्वाचित भएका थिए । त्यस्तै, श्यामलाल राना थारु नेपाली कांग्रेस र मालामति राना थारु तत्काली राष्ट्रिय जनता पार्टीबाट समानुपातिक प्रदेश सभा सदस्य थिए ।
यसैगरी, २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा कुनै पनि दलबाट राना थारु समुदायका व्यक्तिले प्रत्यक्ष रुपमा उम्मेदवार बन्ने मौका पाएनन । तर, प्यारेलाल राना, कृपाराम राना र मालाति राना थारु समानुपातिकतर्फबाट सभासद भए । २०६४ को संविधान सभाको निर्वाचनमा पनि समानुपातिकबाट नारदमुनि राना, मालामति राना र पुरन राना गरी तीन जनाको प्रतिनिधित्व भएको थियो ।













