मोरङमा विद्यालय गएका दुई बालिका बलात्कृत, चार आरोपित पक्राउ

विराटनगर, ४ पुस । मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत भएको घटना बाहिर आएको छ । प्रहरीका अनुसार दुवै बालिका वर्ष १४ वर्षका हुन् । विद्यालय गएका दुवै बालिका घर नफर्किएपछि सोधीखोजी गर्दा घटना बाहिरिएको हो ।

सुन्दरहरैंचा नगरपालिका–३ र ५ घर भएका बालिका बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही पुस १ गते शुक्रबार दुवैजना विद्यालय जान भनेर घरबाट हिँडेका थिए । विद्यालय बन्द रहेको थाहा पाएपछि उनीहरु सुन्दरहरैंचाकै गौशालामा भलिबल हेर्न गए ।

भलिबल आयोजनास्थलमा भेटिएका सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङले ललाइफकाइ होटलमा लगेर दुवैजनालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ ।

उनीहरुले सुन्दरहरैंचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पढ्नलाई विद्यालय गएका बालिका राति अबेरसम्म घर नफर्किएको जानकारी दिँदै अभिभावकले खोजीका लागि सहयोग गर्न प्रहरीलाई आग्रह गरेका थिए । त्यसको भोलिपल्ट अर्थात शनिबार मात्रै उनीहरु घर फर्किए । अभिभावक र प्रहरीले सोधीखोजी गर्दा दुवै बालिकाले आफूहरु बलात्कृत भएको जानकारी गराएपछि घटना बाहिर आएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ । अभिभावकले इलाका प्रहरी कार्यालय बेलबारीमा आइतबार साँझ जाहेरी दिएका थिए । त्यसलगत्तै खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्नलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरैंचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चौधरी र कार्की घटनाका मतियार हुन् । उनीहरुले तिम्सिना र तामाङसँग बालिकाको भेट गराउने, होटलको कोठा मिलाइदिने, खानेकुराको व्यवस्था गरिदिने तथा बलात्कारपछि बालिकालाई गर्भनिरोधक औषधि उपलब्ध गराउने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।