सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या बढ्दै

बैतडी, २ पुस । बैतडीमा स्वास्थ्य चौकी र प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या ६४ प्रतिशतले बढेर ८१ प्रतिशत पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ६४.२ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सुत्केरी हुनेको सङ्ख्या ८१.९ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य कार्यालय र स्थानीय तहले घरमा हुने सुत्केरी शून्य पालिका घोषणा अभियान सञ्चालन गरेका कारण संस्थागत सुत्केरीको सङ्ख्या बढ्दै गएको हो ।

संस्थागत सुत्केरीको सङ्ख्या बढ्दै गएपछि मातृशिशु मृत्यु दर पनि घट्दै गएको भट्ट बताउँछन् । उनले स्वास्थ्य कार्यालय बैतडीले सार्वजनिक गरेको तथ्याङ्कमा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउनेको सङ्ख्या पनि बढिरहेको बताए ।

आर्थिक वर्ष २०७५/७६ मा गर्भ जाँच गराउनेको सङ्ख्या ६२.४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा सो सङ्ख्या बढेर ७९ प्रतिशत पुगेको छ । त्यस्तै, गर्भ रहेको १८० दिन आइरन चक्की सेवन गर्नेको संख्या ७८.२ प्रतिशत छ ।