कर्णालीमा माओवादी नेताका श्रीमति बने समानुपातिक सांसद
सुर्खेत, २८ मंसिर । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले प्रदेश सभाका लागि चार जना महिला सांसद छानेको छ । छनौटमा पर्ने यी चारै सांसद नेताको श्रीमति रहेको खुलासा भएपछि अन्य कार्यकर्ता रुष्ट बनेका छन् ।
माओवादीले प्रदेश सांसद बनाउन लागेको डोल्पाका उर्मिला विक, जुम्लाका यशोदा न्यौपाने, रुकुम पश्चिमका मिलन खड्का रोका र हुम्लाका जुम्कित लामा कार्कीको नाम निर्वाचन आयोगमा सिफारिस गरेपछि उनीहरू नै सांसद बन्ने पक्का भए ।
यी चारैजना माओवादी नेताका श्रीमती हुन् । उर्मिला केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन् । यस्तै, पार्टीको कालिकोट संयोजक रहेका लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेश सांसद बनेका हुन् ।
मिलन खड्का रोका रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका (सचिन)का श्रीमती हुन् भने जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीका श्रीमती हुन् । चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन् ।
जनयुद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेकाहरुलाई व्यवास्ता गर्दै पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक सांसद बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुईजना पनि कर्णालीका नेताकै आफन्त रहेको एक कार्यकर्ताले जानकारी दिए । उपमहासचिव शक्तिबहादुर बस्नेतका बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माका बहिनी नारायणी शर्मा (दाङ्ग) बाट सामानुपातिक सांसद भए ।
प्रदेशसभामा सल्यानबाट दुईपटक प्रदेशसभामा सिफारिस भएका एक महिला नेतृ आफ्नो आफन्त नभएका कारण अहिलेसम्म सांसद बन्न नपाएको गुनासो गरिन् ।
प्रतिनिधिसभामामा समानुपातिकमा रिफारिस भएकी सुर्खेतकी हरिमाया शर्माले पनि सांसद बन्न नपाएपछि असन्तुष्टि जनाइन् । उनी भन्छिन, ‘न समाउने हाङ्गो, न टेक्ने डालो, भएको मान्छेलाई कहीँ छानीहाले भने बर्बाद हुन्छ कि जस्तो लागेको थियो, धन्न छान्नु भएनछ, प्रदेश र संघमा अचम्म सन्तुलित गरेकोमा कर्णालीका ४ टाउकेलाई बधाई छ ।’













