आरन व्यवसायबाट गाउँमै बसी राम्रो अम्दानी
बाजुरा, २३ मंसिर । बूढीगङ्गा नगरपालिका–४ का पदम लुहारले गाउँमै आरन व्यवसाय सुरु गरेका छन् । रोजगारीका लागि भारतमा बस्दै आएका लुहारले भारतमा आफूले गर्न सक्ने काम नमिलेको र मिले पनि काम अनुसारको तलब नपाएपछि गाउँ फर्केर आरन व्यवसाय शुरु गरेका हुन् ।
बूढीगङ्गा नगरपालिका–४ निवासी पदम लुहार अहिले बजारमा बसेर घरेलु हतियार बनाछन् । विशेषगरी उनले कृर्षि औजार बनाउछन् र आम्दानी पनि राम्रो भईरहेको छ।
उनले लामो समयसम्म भारतमा काम गरेर घरखर्च धान्न मुस्किल भएपछि आफैँ आरन व्यवसाय शुरु बताए । उनले भने ‘दुई छोरी र एक छोरा गाउँ नजिकैको भानोदय माविमा पढ्छन्। एक छोरा काठमाडौं पढ्छ। घरपरिवार यत्तिबेला सुखका साथ रमाइरहेको छ ।’
पुर्खौली पेशालाई व्यवसायबाट नयाँ पुस्ताले लाभ लिनुपर्ने उनको तर्क थियो । पुर्खाको व्यवसायबाट आम्दानी हुन्छ भन्ने कुरा थाहा नपाउँदा अहिलेका यूवा जनशक्ति विदेश पलायन भईरहेका छन् । साथै पेशापनि लोप हुनेअवस्थामा पुगेको लुहार बताउँछन् ।
अहिले अधिकांश विद्युतको प्रयोगबाट नै कृर्षि औजार बनाइन्छ। यसका लागि फलाम काट्ने, पिट्ने र वल्डिङ गर्ने राम्रो मेसिन नहुँदा समस्या भएको लुहारको अनुभव छ। ‘यो मेसिन खर्चिलो हुन्छ, आफूले यो किन्न सकिँदैन। मेसिन किन्नका लागि मैले स्थानीय सरकारसँग माग राखेँ तर सुनुवाइ भएन ।’
आधुनिक आरन व्यवसाय सञ्चालन गर्न सीप सिकाइका लागि तालिमको व्यवस्था गरिदिए नया पुस्तालाई पनि थप सहज हुने लुहार बताउँछन् ।













