प्रधानमन्त्री देउवालाई १५ किलोको माला

कैलाली, २२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित पश्चिम सेती आयोजना अब छिट्टै सम्पन्न हुने बताए । उनले देशको समृद्धिको लागि छिमेकीहरुसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने धारणा राखे ।

महोत्सव उद्घाटन गर्न धनगढी पुगेका देउवालाई आयोजकले १५ किलोको माला लगाइ १५ बुँदे मागसहित ज्ञापनपत्र बुझाए । १५ बुँदे मागमा गौरीफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हबलगायत रहेका छन् ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।

हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सवको यो १६ औं संस्करणको हो । महोत्सवमा ४ सय बढी स्टलहरू रहेका छन् । कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक अन्य स्टल रहेका हुन् ।

२१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने १५ बुँदे माग रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको हो ।