नेपाल भारत सीमा विवाद : चुनावी एजेन्डामा मात्रै सिमित
कैलाली, १९ मंसिर । नेपाल र भारतको संयुक्त सीमा सर्भे टोलीले ०५८ देखि ०६३ सम्म नापी गरेर सिमाना तय गरि संयुक्त टोलीले कञ्चनपुर जिल्लामा नापी गर्दा ऐतिहासिक नक्सा, जंगे पिलर र भोगचलन भईरहेको नेपाली भूमि पनि भारततर्पm पारेको थियो ।
भारतीय सहयोगमा डिपिआर बनेर निर्माण भइरहेको हुलाकी राजमार्गको केही खण्डसमेत भारततर्पm पर्ने गरी नक्सांकन भएको थियो । तर अहिले आएर एकाएक भारतले उक्त क्षेत्रलाई आफ्नो रहेको दाबी गर्दै निर्माणधीन हुलाकी राजमार्गका केही ठाउँमा अवरोध पुर्याएको छ ।
कञ्चनपुरदेखि तराईका जिल्ला हुँदै पूर्व झापासम्म जोड्ने राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा ७ किलोमिटर दूरीमा भारतीय पक्षले अवरोध गर्दा हुलाकी राजमार्ग निर्माणमा बाधा पुगेको हो ।
निर्माणधीन राजमार्गमा २०७७ असार २३ गतेका दिन भारतीय सुरक्षाकर्मी, प्रशासनिक अधिकारी र सर्वसाधारणको टोली हत्तियार सहित आएर निर्माणको काम रोकेका थिए ।
भारतीय पक्षले रिफ्रेन्स पिलर नं. ३८ लाई सीमा पिलर मानेर विवाद गर्दै आईरहेको छ । तर कञ्चनपुरका उक्त क्षेत्रलाई नेतृत्व गरिरहेका नेताहरुले चुनाव आउँदा मात्रै तातेको देखिन्छ ।
यस पटकपनि सबै दलले आफ्नो प्रतिवद्धता पत्रमा हुलाकी राजमार्गलाई चुनावी एजेन्डा बनाएका थिए । ग्राभेलिङको क्रममा भारतीय पक्षले अवरोध गर्दा दलका कुनै नेताहरु त्यहाँ सहभागि नभए स्थानीयको भनाई छ ।
स्थानीय सुनिता चौधरी भन्छिन् ‘कालोपत्रेकोलागि तयारी थाल्दा भारतीय एसएसबीले काममा अवरोध पुर्यायो । नेपाल सरकारले जिम्मा दिएको काम सहजरुपले भएन, त्यस क्षेत्रमा २५ प्रतिशत काम बाँकी छ ।’
स्थानीय विवेक लम्सालका अनुसार भारतीयहरू ठूलै फौज नेपाली भूमिमा प्रवेश गरी दादागिरी देखाएर जान्छन्, हाम्रा नेताहरु मुखर्दक भएर बस्छन् । यहाँ थुप्रै सवाल चुनावी एजेन्डा मात्रै बन्छ ।
उनका अनुसार अहिले पनि सबै दलले आफूलाई जिताए ति समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन् । जुन प्रतिबद्धता पुरा हुने हो कि होईन जनता पर्खाईमा छन् ।
बेलौरी क्षेत्रमा सडक निर्माण गरिरहेको ठेकेदार कम्पनी बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहलाई काम रोक्न भारतीय पक्षले दबाब दिएको थियो ।
बेलौरीका नगर प्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले जिपिएस नक्साबाट सो सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गरेको बताए ।
नेपालले पहिलैदेखि उपभोग गर्दै आएको भूमि अहिले भारतीय कब्जामा छ । सडकको कामपनि त्यसरी नै रोकिएको हो । उनले नेपाल भारत सीमा क्षेत्रको सवालमा नेपाल सरकारले भारतसँग तर्क सहितको स्पष्ट कुरा राख्नुपर्ने बताए ।
कञ्चनपुरको बेलौरी क्षेत्र भएर बग्ने चौधर खोला नेपाल–भारतको सिमाना हो । नदीलाई सिमाना मान्दा साक्षी स्तम्भ (रेफ्रेन्स पिलर) तीन सय मिटरयता नेपालतर्पm राखिएको थियो ।
‘सीमानामा खोला, ताल वा दलदल परेमा पिलर गाड्न सकिँदैन, त्यसको वारि वा पारि रेफ्रेन्स पिलर गाडिन्छ र त्यो कुरा नक्सामा लेखिन्छ’
अन्तर्राष्ट्रिय सीमा सरोकार समितिका अनुसार संयुक्त टोलीले रेफ्रेन्स पिलरलाई नै बोर्डर पिलर मानेर नक्सांकन गर्छ, तर नक्साले अहिलेसम्म मान्यता पाएको छैन । त्यही आधारलाई टेकेर भारतीय पक्ष हुलाकी राजमार्ग निमार्ण कार्यमा अवरोध गरेको हो ।
यस क्षेत्रमा ०२८ सालदेखि नै भोगचलन गर्दै आएको सयौँ परिवारको लालपुर्जापनि रहेको स्थानीय नन्द कुमार राना बताउँछन् । ०३६ सालमा नापी गरेर सो क्षेत्रमा सैनिकको बस्ती बसालिएको थियो । जुन बेला यो क्षेत्रमा भारत र नेपालबीच कुनै विवाद थिएन ।
उनले भने अहिले आएर नेपाली भूमिलाई भारततर्पm पार्ने षड्यन्त्र भईरहेछ । चौधर खोला यहाँको सिमाना हो, त्योभन्दा तीन सय मिटरयता रेफ्रेन्स पिलर छ । तर, पिलरभन्दा १० मिटरनजिक सडक बनाएको भनेर भारतीय पक्षले अवरोध गरेको राना बताउँछन् ।
नेपाली भूमिलाई भारतीय नक्सामा पार्न खोज्ने अधिकारीलाई कारबाही गर्न र नेपाली भूमिको रक्षा गर्नुपर्ने उनको तर्क थियो ।
कुल १७ सय ९२ किलोमिटर लामो हुलाकी राजमार्ग पहिलो चरणमा पाँच सय १५ किलोमिटर निर्माण गर्ने योजना थियो, जसमा २० अर्ब लगानी हुने अनुमान गरिएको थियो । त्यसको डिपिआरसमेत भारतले बनाएको थियो ।
२० अर्बमध्ये १२ अर्ब रूपैयाँ भारतले दिने सहमति पनि थियो । तर, त्यसमध्ये भारतले आठ अर्ब रुपैयाँ मात्रै दियो । सुरुमा भारतकै ठेकेदारले काम गरेका थिए । निर्माणस्थलमा साइट क्लियर गर्नेलगायत काममा ढिलाइ भएपछि भारतीयहरू फर्के र नेपालले काम अगाडि बढाइरहेको हो ।
हुलाकी राजमार्गमा दोस्रो चरणको निर्माण ०६५÷६६ मा सुरु भयो । कुल राजमार्गको लागत ४७ अर्ब २७ करोड अनुमान गरिएकोमा अहिले त्यो बढेर ७० अर्ब ६१ करोड पुगिसकेको छ । तर, ०७५÷७६ मा सम्पन्न हुने भनिएको आयोजना निर्माण सम्पन्न भएको छैन ।













