सुदूरपश्चि प्रदेश समितिमा महिला शून्य
कैलाली, १३ मंसिर । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि २४ जना महिलाको उम्मेदवारी परेको थियो । जसमध्ये नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रन्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम प्रदेशबाट एक्लो सांसद बनिन् ।
१६ प्रतिनिधि सभा सदस्य र ३२ प्रदेश सभा सदस्यका लागि प्रतिनिधि सभा सदस्यतर्फ पुरुष उम्मेदवार १२६ मा ११ महिला उम्मेदवारी परेको थियो । यस्तै प्रदेश सभामा पुरुष उम्मेदवार १५० जनामध्ये १३ जना महिला थिए ।
प्रतिनिधि र प्रदेश सभामा दुई÷दुई जना महिला स्वतन्त्र उम्मेदवारी दिएका थिए । यद्यपि मुख्य दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट महिला उम्मेदवारी भने परेको थिएन ।
नेकपा (एमाले) ले प्रतिनिधि सभामा दुई जना र प्रदेश सभामा एक जना महिलालाई उम्मेदवार बनाएको थियो । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई जना महिलालाई उम्मेदवार बनाएका थिए ।
यस्तै नेकपा माओवादीले संघतर्फ पूर्व मन्त्री विना मगरलाई उम्मेदवार बताएको थियो भने नेकपा (एमाले) बाट २०७४ सालमा राष्ट्रिय सभा सदस्य बनेका कैलाली क्षेत्र नम्बर २ (क) का कमला ओलीे प्रदेश सभामा उम्मेदवारी दिएका थिइएन् ।
राज्यका सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने माग गर्दै आए पनि यस पटकको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फको निर्वाचनमा महिला संख्या शून्य भयो । पार्टीले महिला उम्मेदवार नै न्यून दिएको थियो, जस मध्ये टिकेट पाएकाहरुले पनि हार बोहोर्नु पर्दा सुदूरपश्चिम प्रदेश समितिमा महिलाको सहभागिता शुन्य भएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिला नेतृत्वप्रति दलहरूको अविश्वास, तालमेल र गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट वञ्चित तुल्याइएको महिला अधिकारकर्मी सावित्रा घिमिरेले बताउँछिन् ।
उनका अनुसार महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न अब समानुपातिककै भर पर्नुपर्छ । एकातिर पार्टीहरूले महिलालाई टिकट दिन कन्जुस्याइँ गर्छ भने अर्को तर्फ खर्चिलो निर्वाचनका कारण धेरै महिलाले समानुपाति रोज्न बाध्य हुन्छ । पार्टीले पनि सक्षम महिलालाईपनि समानुपातिकमै सीमित राखिदिने उनको तर्क थियो ।
यस पटकको प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी दोस्रोपटक कैलाली–४ को प्रदेशसभा सदस्यमा निर्वाचित भए । सोडारी पाटी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेर समाजवादी संसदीय दलको नेता रहेका थिए ।
सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल पनि दोस्रोपटक प्रदेशसभामा निर्वाचित भए। एमाले पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेका उनी कञ्चनपुर–३ को प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन्।
प्रदेशका उद्योग पर्यटन वन वातावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी दार्चुला जिल्लाको प्रदेशसभा सदस्यमा र सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य अक्कलबहादुर रावल अछामको प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भए ।
सुदूरपश्चिम प्रदेशसभामा यो पटक नयाँ अनुहार निर्वाचित भएका कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह बिष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर रहेका छन् । अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट बिक्रमसिंह धामी रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट कैलालीमा रमेश धामी, डडेल्धुरामा खगराज भट्ट, डोटीमा शिवसिंह ओली, कञ्चनपुरमा ओमविक्रम भाट, बझाङमा भीम भण्डारी र अछाममा झपटबहादुर साउद अछाम हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरहेका छन् ।
एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने वीरबहादुर थापा कञ्चनपुर, सुरेन्द्र पाल बैतडी र डोटीबाट चक्र मल्ल हुन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर डा तारा जोशी डडेलधुराबाट विजय भएका हुन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।
यस पटक चर्चित महिला उम्मेदवार कञ्चनपुर १ बाट माओवादी केन्द्रका बिना मगर, कञ्चनपुर ३ मा एमालेका निरु पाल र डोटीमै एमालेका गौरी ओलीले हार व्यहोर्नुपरेको छ ।
कञ्चनपुर १ मा बिना मगर एमालेका तारा लाम तामाङसँग फराकिलो मतान्तरले पराजित भईन् भने कञ्चनपुरको ३ मा पाल कांग्रेसका रमेश लेखकसँग र डोटीमा ओली नेकपा एसका प्रेम आलेसँग पराजित हुनुपर्यो ।













