लवाङ्गी पूजा सम्पन्न

कैलाली, १२ मंसिर । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको घोडाघोडी मन्दिरमा थारु समुदायको लवाङ्गी पूजा सोमबार भव्य रुपमा सम्पन्न भएको छ । सीता विवाह पञ्चमीका दिन पर्ने यो पूजा परापूर्वकालदेखि विशेष पर्वका रुपमा मनाइँदै आएको छ ।
विगत लामो समयदेखि यस पूजालाई पर्वको रुपमा भव्य रुपमा सम्पन्न गर्न घोडाघोडी तथा संस्कृति संरक्षण समाजले व्यवस्थापनको कार्य गर्दैआएको छ । यस वर्ष समाजले तीन दिनको सांस्कृतिक महोत्सवको आयोजना गरी मन्दिर परिसरमा थारु संस्कृति झल्काउने विभिन्न प्रस्तुति प्रदर्शन गरेको अध्यक्ष चन्द्रबहादुर चौधरीले बताए ।

महोत्सवको कैलाली क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले उद्घाटन गरेका थिए। तीन दिनसम्म चलेको थारु सांस्कृतिक महोत्सवमा विभिन्न क्षेत्रबाट ल्याइएका थारु संस्कृति भल्काउने झाँकी, परम्परागत नाच प्रदर्शन गरिएको थियो ।

राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारु समुदायको भेषभूषा झल्काउने थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, मांगरलगायतको प्रस्तुतिले थारु समुदायको वास्तविक सांस्कृतिक झल्किएको महोत्सव अवलोकनमा सहभागिीरुले बताए । पूजा समापनसँगै सोमबार महोत्सव सम्पन्न भएको छ ।

लवाङ्गी पूजामा कैलाली तथा कञ्चनपुरका थारु समुदाय तथा गैर थारु समुदायको सहभागिता रहेको आयोजकको भनाइ छ । घोडाघोडी नगर भल्मन्सा समाजका अध्यक्ष बुधराम चौधरीले घोडाघोडी, भजनी, लम्की–चुहा, बर्दगोरिया, कैलारी, गौरीगङ्गा लगायतका भल्मन्साहरु पूजामा सहभागी रहेको बताए ।

उनका अनुसार यो पर्वमा विशेषगरी थारु समुदायहरूले नयाँ बाली भित्र्याइसकेपछि उक्त अन्नबालीलाई प्रसादको रूपमा आफ्ना देवी देवतालाई चढाइने भएकाले पनि लवाङ्गी पूजाको महत्व छ ।

लवाङ्गी पूजाको अघिल्लो रात थारु गुरुवाहरु धाक धामी बस्ने बस्ने र पूजाको बिहान मन्दिरमा देउतालाई छाँक (रक्सि) भालेपोथी २ वटा सुँगुर, भालेको भोग दिने चलन रहेको करैचा गाउँका भल्मन्सा रामबहादुर चौधरीले बताए ।

मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भल्मन्साहरुले भोग दिने त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ । पूजा कार्यक्रममा कैलालीका ८२ गाउँका थारु समुदायको प्रत्यक्ष सहभागिता रहँदैआएको पूजा व्यवस्थापन समितिका सहसंयोजक शङ्कर डंगौराले बताए ।

लवाङ्गी पूजाको दिन घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुरलगायतका सयौँ बलि दिइएको छ । बलि दिने कार्यमा थारुलगायत गैर थारु समुदायको पनि सहभागिता थियो ।