लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
धनगढी, १० मंसिर । धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक नेपाल र दलित महिला अधिकार मञ्चको संयूक्त आयोजना पत्रकार सम्मेलन गरि अभियान अवधिभरि के के गर्ने भन्ने विषयमा जानकारी गराइयो ।
‘सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु ओरेक नेपाल कैलालीका संयोजक विनु रानाले बताईन् । उनले अभियान शुभारम्भ कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा समेत ¥यालीसहित कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।
कार्यक्रममा दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेले लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुवात गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको जानकारी दिइन् ।
उनका अनुसार हरेक वर्ष अग्रेजी महिनाको नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट सुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ । कैलालीमा र्याली, अन्तरक्रिया विझिन्न पालिकामा वक्तृत्वकला लगायतको कार्यक्रम गरेर महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिने घिमिरेले बताइन ।
उनले पितृसत्तात्मक सोंचका कारण महिला हिंसाको घटनामा कमी नआएको बताइन । ‘अहिले पनि महिलालाई हाम्रो समाजले दोस्रो दर्जाको रुपमा हेर्ने चलन छ’, उनले भनिन्,‘लैंगिक हिंसा रोक्न सोंचमा परिवर्तन आवश्यक छ ।’













