सुदूरपश्चिममा तीन क्षेत्रको नतिजा सार्वजनिक, अन्य क्षेत्रमा कस्को अग्रता ?
उन्नती चौधरी
कैलाली, ७ मंसिर । सुदूरपश्चिम प्रदेशमा हाल सम्म तीन निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।
विजयी घोषणा हुनेमा कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, डडेल्धुरामा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र अछाम १ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवँर विजय भएका छन् ।
अन्य ९ निर्वाचन क्षेत्रको मतगणना जारी छ । जसमा कैलालीकाका ४ वटा निर्वाचन मध्ये क्षेत्र नं। ५ मा एमालेका नारदमुनि राना सुरुबाटै अग्रतामा छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका डिल्लीराज पन्तले पच्छाइरहेका छन् । स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा तेस्रो स्थानमा छन् ।
कैलाली ४ मा कांग्रेसका वीर बहादुर बलायरले अग्रता बढाएक छन् । यस क्षेत्रमा एमालेका लेखराज भट्ट अहिले पछि परेका छन् । अघिल्लो पटक यस क्षेत्रबाट भट्ट निर्वाचित थिए ।
यस्तै कैलाली १ र २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बनाइरहेको छ । १ मा नागरिक उन्मुक्तिका अध्यक्ष तथा रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठले फारकिलो मतले अग्रस्थानमा छिन् । यहाँ कांग्रेसका राम जनम चौधरी दोस्रो स्थानमा छन् भने एमालेका तपेन्द्र रावल तेस्रो स्थानमा छन् । यस क्षेत्रबाट अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएका थिए ।
कैलाली २ मा पनि नागरिक उन्मुक्तिमा अरुण चौधरी अगाडि छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगत बडूवालले पच्छाइ रहका छन् । एमालेका झपट रावल तेस्रो स्थानमा छन् ।
कञ्चनपुर २ मा एनपी साउद र ३ मा रमेश लेखक अगाडि छन् । साउदलाई एमालेका नरबहादुर धामी र लेखकलाई एमालेकै निरु पालले पच्छाइ रहेकी छन् । अघिल्लो निर्वाचनमा साउद धामीसँग पराजित भएका थिए ।
कञ्चनपुर १ मा एमालेका तारा लामा तामाङले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई दोब्बर मतले पछि पारेका छन् । अघिल्लो पटक यहाँबाट मगर निर्वाचित भएकी थिइन् ।
दार्चुलामा पनि कांग्रेसका दिलेन्द्र बडूले अग्रता बनाएका छन् । त्यहाँ एमालेका गणेश ठगुन्नाले बडूलाई पच्छाइरहेका छन् । ठगुन्ना अघिल्लो पटक निर्वाचित भएका थिए ।
अछाम २ मा काँग्रेसका पुष्प शाहलाई एमालेका यज्ञ बोगटीले पच्छाइरहेका छन् । अघिल्लो पटक शाह बोगटीसँग पराजित भएका थिए ।
बैतडीमा एमालेका दामोदर भण्डारी अगाडी छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका नरेन्द्र कुँवरले पच्छाइरहेका छन् । अघिल्लो पटक पनि यहाँबाट भण्डारी निर्वाचित भएका थिए ।
बझाङमा पनि एमाले नै अगाडि छ । एमालेका ऐन महरले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलाई सुरुबाटै पछि पारेका छन् । अघिल्लो पटक यहाँ एमालेका भैरव सिंह निर्वाचित भएका थिए ।
नेकपा एकीकृत समाजवादीले डोटीमा अग्रता बनाइरहेको छ डोटीमा प्रेम आलेसँग एमालेकी गौरी ओली पछि परेकी छन् । १६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा १२ निर्वाचन क्षेत्रको मात्रै मतगणना जारी छ । बाजुरामा भने मतगणना भएको छैन ।













