बाजुरा झडपमा युवकको मृत्यु

बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मदतानस्थलमा झडप हुँदा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

त्रिवेणी गाउँपालिका–७ का सन्दीप अयडीको ज्यान गएको हो। प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो।

मत खसालेको बक्स लैजाने क्रममा भीडले गोली भरिएको प्रहरीको इन्सास राईफल पनि लगेको नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले हिमालखबरलाई बताए। अबेर रातिसम्म प्रहरीले हतियार फेला पार्न सकेको छैन।

नेकपा ९एमाले० र नेपाली कांग्रेसका समर्थकबीच मत पेटिका खोसाखोस भएको थियो। मत पेटिकालाई प्रहरीले सुक्षित राखेको छ।

झडपमा चार जना घाइते छन्। घाइतेमध्ये प्रहरी सहायक हवल्दार कृष्ण कुँवरको अवस्था गम्भीर छ।

अपराह्न साढे ४ बजे स्थिति तनावग्रस्त भएपछि मतदान स्थगित भएको छ। मतदान सकिने वेला तीन–चार सय जनाको समूह ढुंगा, लाठीसहित आएर मत पेटिका कब्जा गर्ने प्रयास गरेका थिए। “त्यसपछि प्रहरीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भयो,” एसएपी कार्कीले भने।

अहिले पनि त्यहाँको स्थिति सामान्य भईसकेको छैन। थप मद्दतका लागि सुरक्षाकर्मी घटनास्थलतिर गइरहेको कार्कीले बताए। आज दिनभरी उक्त मतदान स्थलमा विवाद र झडप हुँदै आएको थियो।