भारतबाट चुनावका लागि स्वेदश फर्किने नेपाली भन्छन् : ‘रोजगारी सिर्जना गर्नेलाई भोट’

महेन्द्रनगर, १ मंसिर । कैलालीको लम्कीका ७० वर्र्षीय गगन सिंह बिहीबार बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिए ।

दुई महिनाअघि मात्रै कामका लागि भारतको सिमला पहाड पुग्नु भएका उनी परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको चुनावका लागि भोट हाल्न नेपाल आएका हुन् ।

‘गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ’, गगनले भने, ‘जीवनभर भोट गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा काम गर्नुको विकल्प भएन ।’
उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्नेमा जोड दिए ।

‘चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियती छ’, उनले भने, ‘देशको व्यवस्था फेरिए पनि मजदूरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन् ।’ गगनले लामो समयदेखि भारतमा मजदूरी गरेर नै जीविका चलाउँदै आएका छन् ।

भारत देहरादुनबाट घर फर्केका बाँकेको कोहलपुर सम्झना चोकका पानसरी रानाले आफू २० वर्षदेखि भारतमा काम गरिरहेको सुनाए । ‘यहाँकाले केही गर्दैनन्, भोट हालेर फेरि जाने त हो’ उनले भने, ‘हामी त समय मिलाएर जहिल्यै पनि मतदान गर्न आएका हुन्छौंँ ।’

चुनावका बेलामा मात्र पार्टी र उम्मेदवारले घर घरमा गएर भोट माग्ने र चुनाव सकिएपछि मतदाताको घर जाने बाटो नै विर्सने प्रवृत्ति मन नपरेको उनी बताउछन् । ‘हामी महिला मान्छे देहरादुनमा काम गरेर बच्चा पढाइरहेका छौँं’, उनले भनिन्, ‘यो हाम्रो रहर नभइ बाध्यता हो ।’

उनीसँगै देहरादुनबाटै देशमा हुने चुनावमा भोट हाल्नकै लागि १६ दिनको बिदामा आएका कोहलपुरका गगन रानाले चुनाव जितेर जानेहरुलाई जन भावनाअनुसार काम गर्न सुझाव दिए । ‘चुनाव जित्ने अनि लाभका पदका लागि आफन्त र नजिकालाई मात्रै हेर्नाले देशको विकास भएन्’, उनले भने, ‘प्रजातन्त्रदेखि गणतन्त्र आइसक्दासम्म मुलुकभित्र रोजगारीका सम्भावना खोजी नहुनु दुखद् विषय हो ।’ चुनावको मुखमा पनि युवा भारतलगायत तेस्रो मुलुक गइरहेको समाचार सुन्दा मन खिन्न हुने गरेको उनी बताउछन् ।

‘ठूलो श्रम गर्ने जनशक्ति विदेशमा पसिना बगाइरहेको छ’ उनले भने, ‘यहाँ नेताहरुले काम कम गफ बढी दिएर मात्रै बसेको देखियो ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिक रुपमा विकास हुँदै गए पनि युवा स्वरोजगार एवं मुलुकभित्रै आयआर्जन गर्ने योजना ल्याउन आवश्यक रहेको उनले बताए । ‘चुनावका बेला भोट माग्ने त्यसपछि नागरिकको पिर मर्का नबुझ्नेलाई यस पटक प्रतिनिधि चुन्दैनौंँ’, रानाले भने, ‘गरिब र विपन्न समुदायको स्तर माथि ल्याउने खालका योजना र विचार भएका नेतालाई मत दिन्छौंँ ।’

त्यसैगरी भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका मदनराज पन्तले पनि नेताप्रति आक्रोस व्यक्त गरे । ‘जुनसुकै नेताले जिते पनि हामीले भारतमा कामका लागि निर्भर रहनुपर्ने बाध्यता छ’, उनले भने, ‘भारतमा मजदूरी गरेर घर खर्चका लागि मजदूरीदेखि बिरामी हुँदा उपचार गर्नसमेत भारत जानुपर्ने स्थिति छ ।’

त्यस्तै नारायणगढको देवघाटका मनिराम भुजेलले सिमलाबाट सात महिना गाउँबस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना सुनाए । सात महिनामा सिमलाबाट फर्केका भुजेलले चुनावपछि फेरि मजदूरीका लागि भारत फर्किने बताए ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीले चुनावका लागि मतदान गर्न तीन दिनयता स्वदेश फर्किनेको चाप बढेको जनाएको छ । प्रहरी नायव निरीक्षक बहादुरसिंह धामीले बिहीबार बिहानसम्म दैनिक अढाईदेखि तीन सयसम्म नेपाली घर फर्किसकेको बताए ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि पश्चिमी सीमानाका गड्डाचौकीबाट आवागमन रोक लगाउने निर्णय गरिसकेको छ । प्रशासनले सुचना जारी गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाएको छ ।