यतिबेला ‘ढकिया’ चिन्हको लहर चलेको छ, जित्ने कुरामा ढुक्क छु : अरुण
नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अरुण चौधरी यतिखेर चर्चामा छन् ।
प्रतिनिधि सभाको एक कार्यकाल पुरा गरिसकेका एमालेका उम्मेदवार झपटसिंह रावल र संविधान सभा सदस्य रहिसकेका सत्ता गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार भगत बडुवाल दुइ जना बलियो प्रतिस्पर्धीसँग कडा टक्कर दिईरहेका चौधरी निकै चर्चामा छन् । उनले यतिबेला ‘ढकिया’ चिन्हको लहर चलेको र यस क्षेत्रका मतदाता आफ्नो पक्षमा रहेकाले आफू जित्ने कुरामा ढुक्क रहेको बताउँछन् ।
अरुण कैलाली, लम्कीचुहा नगरपाालिका–४ गिढिनिया गाउँका स्वर्गिय बुवा करिंगा चौधरी र आमा कल्टीदेवी चौधरीको कान्छा छोरा हुन् । उनी सानैदेखि समाजसेवामा रुचि राख्ने, अरुको सुखदुःखमा सहभागी हुने, मुद्दा मामिला पर्दा सम्बन्धित ठाउँमा दौडिने एक पात्रकोरुपमा चिनिएका व्यक्ति हुन् । उनी खास गरी २०६२/०६३ को जनआन्दोलनदेखि हालसम्म निरन्तर थारुलगायत स्थानीयवासीको हक अधिकारको लागि लड्दै आइरहेको बताउँछन् ।
आन्दोलनमै लागेका कारण २०६९ सालमा उनको ट्रयाक्टर समेत जलाइएको थिए । जुनबेला ठूलो क्षति ब्यहोर्नु परेको अरुणले समाजसेवा र राजनीतिप्रतिको लगावमा भने कम भएन । उनी जनताका प्रतिनिधि हुनबाट कहिलै पछि हटेनन् ।
विगतमा प्रदेश सभा सांसद तथा नगरपालिकाको मेयरमा लडे, तर सफलता हात पार्न सकेनन् । दुइ चुनावमा हार ब्यहोरिसकेका उनीमा अहिले पनि जोश जाँगरमा कुनै कमि आएको छैन । उनी जोस र जांगरका साथ अहिले नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिन्ह लिई प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् । हारको ह्याट्रिक हुनबाट जोगिदै चुनावमा पहिलो पटक जितको खाता खोल्न आतुर छन् उनी ।
रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका उम्मेदवार अरुण चौधरीले पनि कैलाली २ मा आफ्नो जीत निश्चित रहेको दाबी गर्छ । कांग्रेसमा छँदा महासमिति सदस्य रहेका चौधरी अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्की चुहाको मेयरमा उम्मेदवार बनेका थिए । उनी दुवै पटक झिनो मतान्तरले पराजित भए ।
२०७४ सालमा लम्की चुहाको मेयरमा एमालेका महादेव बजगाईं ७ हजार १८८ मत ल्याएर विजयी हुँदा फोरम लोकतान्त्रिकबाट निर्वाचनमा होमिएका चौधरीले ६ हजार २२२ मत पाएका थिए ।
फोरम लोकतान्त्रिक र कांग्रेसको २०७४ असोज ३० गते एकता भएको थियो । त्यसपछि चौधरी कांग्रेसबाट प्रदेश २ को (२) मा उम्मेदवार बनेका थिए । एमाले र माओवादीको वाम गठबन्धनसँग उनी ८४४ मतले पराजित भए । त्यो वेला वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नन्दबहादुर साउदले १२ हजार ७७ मत पाउँदा कांग्रेसबाट उम्मेदवार बनेका चौधरीले ११ हजार २३३ मत पाएका थिए ।
‘यसअघि प्राविधिक कारणले म झिनो मतले हारेको थिएँ । तर, यस पटक जीत पक्का हो, असपटक ढकियाको लहर चलेको छ, नागरिकहरूले अहिले नागरिक उन्मुक्तिप्रति आशा र भरोसा गरेका छन् ।’
उनले यस क्षेत्रकोलागि आफू नै बलियो उम्मेदवार रहेको दाबी गर्दै आईरहेका छन् । यस क्षेत्रमा १ लाख ४ हजार ९०६ मतदाता छन् । त्यसमा ३४ हजार ४ सय थारु, करिब १० हजार भन्दा बढी दलित र बाँकी ब्राह्मण, क्षेत्री लगायतका अन्य जातजातिका मतदाता छन् । यस क्षेत्रमा ९ जना उम्मेदवार प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा छन् । देउवा, ओली दुवै गठबन्धनले प्रदेश र प्रतिनिधि सभामा थारु उम्मेदवार नदिएका कारण धेरै थारुहरुको रोजाईमा आफू पर्ने उनको तर्क छ ।
उनी भन्छन् ‘म थारु समुदायका सक्रिय युवा हुँ, र पहाडीका ज्वाईं पनि । त्यसैले मलाई थारु समुदायको मत मात्रै होइन, पहाडी समुदायसँग पनि उत्तिकै घुलमेल, मेलमिलाप, घनिष्टता र नजिकको सम्बन्ध हुँदा त्यो समुदायलेपनि मलाई नै भोट दिनेछन् भन्नेमा ढुक्क छु ।













